लस एन्जलस काउन्टी, क्यालिफोर्निया – लस एन्जलस काउन्टीमा हराएकी तीन सन्तानकी आमा शेल्या गुटिरेज (३३) को शव एन्जलस नेसनल फरेस्टमा फेला परेको छ। उनलाई आफ्नै श्रीमान् जोसिमार काब्रेराले हत्या गरेको आशंका गरिएको छ।

गुटिरेज चार दिनदेखि हराइरहेकी थिइन्। परिवारले खोजतलास गरिरहेका बेला उनको श्रीमान् काब्रेराले विभिन्न बहाना बनाएर परिवारलाई झुक्याउने प्रयास गरेको बताइएको छ। उनले गुटिरेजलाई अमेरिकाको इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (ICE) ले पक्राउ गरेको दाबी गरेका थिए। त्यसबाहेक, उनी अर्को पुरुषसँग भागेको वा दुर्घटनामा परेको जस्ता बहाना पनि दिएका थिए।

तर, अपार्टमेन्ट बाहिरको Ring सुरक्षा क्यामेराले काब्रेरालाई ठूलो वस्तु कपडामा बेरेर तानेर लैजाँदै गरेको देखाएको छ। त्यही सामग्रीसँग मिल्दोजुल्दो हरियो कपडामा बेरिएको अवस्थामा गुटिरेजको शव शनिबार बिहान पर्खालको छेउमा भेटिएको हो।

काब्रेरा त्यसपछि आफ्ना तीन सन्तानसहित पेरु भागेको प्रहरीले जनाएको छ। पेरुमा उनलाई पक्राउ गरिएको देखिने भिडियो सार्वजनिक भएको छ। हाल अमेरिकासँग समन्वय गरेर उनलाई ल्याउने तयारी भइरहेको र ल्याएपछि उनलाई हत्या मुद्दामा आरोप लगाइने लस एन्जलस काउन्टी शेरिफ कार्यालयले जनाएको छ।

मृतकको मृत्युको कारणबारे अन्तिम विवरण लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले सार्वजनिक गर्नेछन्।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected