१९६९ को एउटै दुर्लभ १ सेन्टको सिक्काले तपाईंलाई बनाउन सक्छ ८ करोडको मालिक
यदि तपाईंको घरमा पुराना सिक्काहरू थन्किएर बसेका छन् वा गोजीमा अमेरिकाको १ सेन्ट (पेनी) छ भने, त्यसलाई एकपटक ध्यान दिएर हेर्नुहोस्। तपाईंसँग भएको एउटा साधारण सिक्काको मूल्य ६ लाख अमेरिकी डलर (करिब नेपाली रु. ८ करोडभन्दा बढी) सम्म पर्न सक्छ।
सिक्का बिक्री तथा लिलामी सम्बन्धी चर्चित संस्था ‘स्ट्याक्स बोवर्स ग्यालरीज’ (Stack’s Bowers Galleries) का अनुसार, सन् १९६९ मा अमेरिकाको सान फ्रान्सिस्को मिन्टमा छापिएका केही १ सेन्टका सिक्कामा दुर्लभ प्राविधिक त्रुटि भएको थियो। सिक्का ढाल्ने क्रममा साँचो (Die) को असन्तुलनका कारण सिक्काको अघिल्लो भागमा रहेका अक्षर र अङ्कहरू दोहोरिएका जस्ता (Doubled Die Obverse) छापिएका थिए।
सिक्का क्षेत्रका विज्ञहरूका अनुसार यस्तो त्रुटि भएका सिक्काहरू विश्वभर जम्मा ५० देखि ६० वटा मात्र उपलब्ध छन्। यही विरले पाइने दुर्लभताका कारण अनलाइन धातु कारोबार गर्ने संस्था ‘एसडी बुलियन’ ले यो सिक्कालाई अमेरिकाको इतिहासकै सबैभन्दा प्रसिद्ध त्रुटियुक्त सिक्का मानेको छ। यसको अवस्था र गुणस्तर हेरी बजारमा यसको मूल्य ३१,५०० डलरदेखि ६०५,००० डलरसम्म पर्ने गरेको छ।
अझ चाखलाग्दो कुरा त के छ भने, २३० वर्षभन्दा लामो इतिहास बोकेको यो पेनी अब अमेरिकामा नयाँ बन्ने छैन। एउटा १ सेन्टको सिक्का तयार पार्न करिब ४ सेन्ट खर्च हुने भएपछि अमेरिकी मिन्टले यसको नयाँ उत्पादन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिसकेको छ। बजारमा अर्बौंका संख्यामा पुराना पेनीहरू अझै चल्तीमा रहे पनि नयाँ उत्पादन रोकिने भएपछि पुराना र यस्ता दुर्लभ सिक्काहरूको महत्त्व अझ चुलिएको छ।
यदि तपाईंसँग पनि सन् १९६९ को ‘S’ छापिएको पेनी छ र त्यसमा अङ्क वा अक्षर दोहोरिएको जस्तो शङ्का लाग्छ भने, तपाईंले अमेरिकी नुमिस्मेटिक एसोसिएसन (American Numismatic Association) को आधिकारिक डाइरेक्टरीमार्फत आधिकारिक सिक्का जाँचकर्ता (Coin Dealer) सँग सम्पर्क गरी यसको वास्तविक मूल्य मूल्याङ्कन गराउन सक्नुहुन्छ।




















