अमेरिकामा १० हजार डलरभन्दा बढी नगद जम्मा वा झिक्दा बैंकले IRS होइन, संघीय निकायमा रिपोर्ट गर्नुपर्ने, रकम टुक्र्याएर रिपोर्ट छल्ने प्रयास गरे ५ वर्षसम्म जेल र २ लाख ५० हजार डलरसम्म जरिवाना!
अमेरिकामा बैंक खातामा एकै दिन १० हजार डलरभन्दा बढी नगद (Cash) जम्मा वा झिक्दा बैंकले संघीय सरकारलाई अनिवार्य रिपोर्ट गर्नुपर्ने व्यवस्था छ। तर यस्तो रिपोर्टबाट बच्न जानाजानी रकमलाई सानो–सानो भागमा विभाजन गरेर फरक–फरक समयमा जम्मा वा झिक्नु भने संघीय अपराध हुन सक्छ।
अमेरिकी ट्रेजरी विभागअन्तर्गतको वित्तीय अपराध नियन्त्रण सञ्जाल (FinCEN) का अनुसार, बैंकले एकै दिन एउटै व्यक्ति वा उसको तर्फबाट भएका १० हजार डलरभन्दा बढीका नगद कारोबार जोडेर Currency Transaction Report (CTR) दाखिला गर्नुपर्छ।
१० हजार डलरभन्दा बढी हुँदा के हुन्छ?
१० हजार डलरभन्दा बढी नगद जम्मा वा झिक्दा बैंकले CTR रिपोर्ट पठाउँछ।
ठ्याक्कै १० हजार डलरको कारोबारले मात्र यो रिपोर्ट अनिवार्य गर्दैन।
एउटै दिन बिहान ६ हजार र दिउँसो ५ हजार डलर नगद जम्मा गरेमा दुवै कारोबार जोडिन्छन्।
चेक, बैंक ट्रान्सफर र कार्डबाट गरिएको भुक्तानी यो नगद कारोबारको नियममा पर्दैन।
बैंकले ग्राहकको परिचय खुल्ने कागजात, जस्तै सरकारी परिचयपत्र र आवश्यक व्यक्तिगत विवरण माग्न सक्छ।
१० हजार डलरभन्दा बढी जम्मा गर्दा अपराध हुन्छ?
हुँदैन। यो कुरा विशेष रूपमा बुझ्न आवश्यक छ। कसैले घर बेचेको पैसा, कार बिक्रीबाट आएको रकम, बचत वा अन्य वैध स्रोतबाट प्राप्त नगद बैंकमा जम्मा गरेको छ भने १० हजार डलर नाघेकै कारण उसले अपराध गरेको मानिँदैन।
बैंकले रिपोर्ट पठाउनु भनेको ग्राहक दोषी भएको प्रमाण होइन। यो बैंकको कानुनी दायित्वअन्तर्गत हुने नियमित प्रक्रिया हो।
रकम टुक्र्याएर जम्मा गरे जेल सजाय हुन सक्छ!
रिपोर्टबाट बच्ने उद्देश्यले १० हजार डलरभन्दा कम हुने गरी रकमलाई पटक–पटक विभाजन गरेर जम्मा वा झिक्ने कार्यलाई ‘Structuring’ भनिन्छ।
उदाहरणका लागि, १५ हजार डलर नगद जम्मा गर्नुपर्ने व्यक्तिले बैंकको रिपोर्ट छल्न ७ हजार र ८ हजार डलर छुट्टाछुट्टै समयमा वा फरक खातामा जम्मा गर्नु गैरकानुनी हुन सक्छ।
अमेरिकी संघीय कानुन 31 U.S.C. 5324 अनुसार यस्तो कार्यमा संलग्न व्यक्तिलाई:
पाँच वर्षसम्म जेल सजाय हुन सक्छ
पाँच वर्षसम्म जेल सजाय हुन सक्छ।
२ लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्छ।
अर्को संघीय अपराधसँग जोडिएको वा १२ महिनामा १ लाख डलरभन्दा बढीको अवैध गतिविधिको ढाँचा भएको अवस्थामा १० वर्षसम्म जेल सजाय हुन सक्छ।
अमेरिकामा बस्ने नेपाली समुदायले के बुझ्ने?
बैंकमा १० हजार डलरभन्दा बढी नगद जम्मा गर्न वा झिक्न डराउनुपर्ने आवश्यकता छैन। रकम वैध स्रोतबाट आएको हो भने बैंकले सोधेको प्रश्नको सही जवाफ दिने, परिचयपत्र देखाउने र आवश्यक रिपोर्टिङ प्रक्रिया पूरा गर्न दिने गर्नु उचित हुन्छ।
रिपोर्टबाट बच्न रकम टुक्र्याएर कारोबार गर्नु हुँदैन। त्यस्तो कारोबारको उद्देश्य रिपोर्ट छल्ने हो भने रकम वैध भए पनि कानुनी समस्या उत्पन्न हुन सक्छ।
त्यसैले अमेरिकामा नगद कारोबार गर्दा १० हजार डलरको सीमा र बैंकको रिपोर्टिङ नियमबारे जानकारी राख्नु सबैका लागि महत्त्वपूर्ण छ।


















