काठमाडौं, चैत १३ — नेपालले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह लाई आज प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हुने शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि निर्धारण गरिएको छ। समारोहलाई विशेष धार्मिक र सांस्कृतिक स्वरूप दिइनेछ, जसअन्तर्गत ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्तीवाचन तथा १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम रहेको छ।

शपथपछि नवनियुक्त प्रधानमन्त्री शाहले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन्। शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ।

नेपालको संविधानको धारा ७६(१) अनुसार एकल बहुमत सरकार गठन हुन लागेको हो। राष्ट्रपति कार्यालयका अनुसार समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ।

प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइनेछ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। सोही आधारमा बिहीबार पार्टीले शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।

निर्वाचनमा बालेन्द्र शाह झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित विजयी भएका थिए। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नव-निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected