चक्कु प्रहार गरी सैलुन भित्रै नेपाली महिलाको हत्या — अमेरिकामा दर्दनाक घटना
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया नेपाली महिला पुतली कुँवरको निर्मम हत्या भएको छ। उनी काम गर्ने Sue’s Salon भित्रै यो घटना भएको हो।
प्रहरीका अनुसार बिहान करिब ९:५२ बजे एक ६६ वर्षीय व्यक्ति सैलुन खुल्नुअघि नै भित्र प्रवेश गरेका थिए। उनले ज्याकेटबाट चक्कु निकालेर पुतलीमाथि आक्रमण गरेका थिए। त्यसपछि दुबैबीच झगडा भएको र पुतलीले आफूलाई जोगाउने प्रयास गरे पनि उनलाई ८ पटक चक्कु प्रहार गरिएको बताइएको छ।
घटनापछि संदिग्ध व्यक्तिले क्यास रजिस्टर तोडेर पैसा लिएको र त्यसपछि सिसिटिभी प्रणाली नै बन्द गरेको विवरण सार्वजनिक भएको छ।
प्रहरीले सिसिटिभी र अन्य क्यामेराको सहयोगमा संदिग्धलाई पहिचान गरी Massachusetts को North Attleboro स्थित एक मोटेलबाट पक्राउ गरेको छ। उनलाई अब Rhode Island लगेर पहिलो दर्जाको हत्या र डकैतीको आरोपमा मुद्दा चलाइनेछ।
मृतकका श्रीमान् लिला बहादुर थापाले “मेरो श्रीमती मेरो सबैथोक थिइन्” भन्दै आफ्नो पीडा व्यक्त गरेका छन्। २० वर्षको वैवाहिक जीवन यसरी एकाएक टुंगिएको छ।
विदेशमा आफ्नो परिवारका लागि संघर्ष गरिरहेकी एक नेपाली दिदीलाई यसरी गुमाउनु सम्पूर्ण नेपाली समुदायका लागि ठूलो क्षति हो।
लिंक




















