युलेस, टेक्सस — अगस्ट १५, २०२६ को साँझ। समय करिब ५ः३० बजे। तापक्रम १०० डिग्री फरेनहाइट अर्थात् करिब ३८ डिग्री सेल्सियस। चर्को गर्मीबीच पनि रुखको छहारीमुनि बेन्ची र कुर्सीमा बसेका केही नेपाली साहित्यप्रेमीहरूबीच साहित्य, सिर्जना र प्रवासमा नेपाली भाषाको भविष्यबारे आत्मीय संवाद चलिरहेको थियो।

छेउमै दाउरा बालेर चूल्होमा चिया पकाइँदै थियो। चियाको बास्नासँगै साहित्यिक गफगाफ चलिरहेको थियो। कुनै औपचारिक सभाहल थिएन, मञ्च थिएन, भाषणका लागि पोडियम थिएन। थियो त खुला आकाश, छहारी, चिया र सिर्जनाका कुरा।

यही आत्मीय वातावरणमा ‘स्रष्टा साँझ अमेरिका’‘स्वर्ग इभेन्ट सेन्टर’को सहकार्यमा नयाँ साहित्यिक भेटघाट कार्यक्रमको सुरुवात भएको हो।

ट्रिनिटी बुलेभार्ड, युलेसस्थित स्वर्ग इभेन्ट सेन्टरको निर्माणाधीन परिसरमा भएको उक्त भेटघाटमा सहभागीहरूले प्रवासमा नेपाली साहित्यको प्रवर्द्धन, साहित्यिक सिर्जना र नेपाली भाषा–संस्कृतिसँग जोडिएका विषयमा छलफल गरेका थिए।

कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र निरन्तर बनाउने विषयमा पनि सहभागीहरूबीच छलफल भएको छ। प्रत्येक शनिवार साँझ खुला वातावरणमा भेला हुने, आफैं चिया बनाउने, चिया पिउँदै साहित्यिक कुराकानी गर्ने तथा सिर्जनाहरू सुनाउने–सुन्ने अवधारणालाई निरन्तरता दिने योजना बनाइएको छ।

आयोजक पक्षका अनुसार, प्रवासमा रहेर नेपाली साहित्य र सिर्जनालाई जीवन्त राख्ने उद्देश्यले यस्तो अनौपचारिक तर नियमित साहित्यिक भेटघाटलाई निरन्तरता दिन लागिएको हो। औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा साहित्यकार, स्रष्टा, पाठक र साहित्यप्रेमीहरूलाई एउटै ठाउँमा जोड्ने प्रयासका रूपमा यसलाई अघि बढाइनेछ।

स्वर्ग इभेन्ट सेन्टर अहिले निर्माणकै क्रममा छ। आगामी एक–दुई महिनाभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको उक्त सेन्टरमा विवाह, व्रतबन्धलगायत विभिन्न व्यक्तिगत, सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ। निर्माणाधीन परिसरमै साहित्यिक गतिविधिको सुरुवात हुनु आफैंमा एउटा फरक संयोग बनेको छ।

यो भेटघाटका सहभागीमध्ये एकका रूपमा उपस्थित व्यक्तिका लागि भने यो केवल एउटा कार्यक्रमको सुरुवात थिएन। यो एउटा नयाँ यात्राको सुरुवात पनि थियो—जहाँ रमाइलोसँगै त्यसपछिका जिम्मेवारी र चुनौतीहरू पनि देखिन थालेका छन्।

‘हेर्दै जाऔँ, अघि बढ्दै जाऔँ—राम्रै होला, हुनेछ।’ यही भावनाका साथ सहभागीहरू आगामी शनिवारको भेटघाटको प्रतीक्षामा छन्।

संयोग पनि रोचक छ। सन् २०१७ मा यस्तै आत्मीय वातावरण र साहित्यप्रतिको समर्पणबाट ‘स्रष्टा साँझ अमेरिका’को यात्रा सुरु भएको थियो। समयसँगै यसको गतिविधि अमेरिकाबाट विश्वव्यापी साहित्यिक सञ्जालसम्म विस्तार भएको छ। अहिले युलेसमा सुरु भएको यो नयाँ साहित्यिक भेटघाटलाई पनि त्यही यात्राको अर्को महत्वपूर्ण पहलकदमीका रूपमा हेरिएको छ।

प्रवासमा जीवनको व्यस्तता, दूरी र दैनिकीबीच नेपाली भाषा र साहित्यसँग जोडिने एउटा सानो थलो निर्माण गर्ने प्रयास हो यो। चियाको कपसँगै साहित्यका कुरा गर्ने, सिर्जना सुनाउने र नेपालीपनलाई पुस्तान्तरण गर्ने एउटा सरल तर अर्थपूर्ण अभियान।

सायद ठूलो परिवर्तन पनि यस्तै साना भेटघाटबाट सुरु हुन्छन्।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected