१५ करोड ३० लाखभन्दा बढी ड्राइभिङ लाइसेन्स डार्क वेबमा बिक्रीको दाबी, एफबीआईद्वारा अनुसन्धान
अमेरिका/क्यानडा — अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले १५ करोड ३० लाखभन्दा बढी ड्राइभिङ लाइसेन्ससहित १७ करोडभन्दा बढी परिचयसम्बन्धी अभिलेख डार्क वेबमा पुगेको भनिएको घटनाबारे अनुसन्धान थालेको छ।
अगस्ट ३१ मा ‘नेक्सस’ नामको साइबर अपराध बजार रुसी साइबर अपराध फोरममा देखिएको थियो। त्यहाँ अमेरिकी र क्यानडाली नागरिकका ड्राइभिङ लाइसेन्स, परिचयपत्र, यात्रा कागजात र स्वास्थ्यसम्बन्धी कार्डका प्रतिहरू बिक्रीका लागि राखिएको दाबी गरिएको थियो।
नेक्ससमा १५ करोड ३० लाखभन्दा बढी ड्राइभिङ लाइसेन्स, १ करोडभन्दा बढी परिचयपत्र, करिब ३० लाख यात्रा कागजात र ५ लाख ७९ हजार स्वास्थ्य कार्ड रहेको दाबी गरिएको थियो। सञ्चालकले यी विवरण एक वर्षभन्दा बढी समयदेखि निरन्तर चोरी भइरहेको बताएका थिए।
प्रत्येक लाइसेन्सका अगाडि–पछाडिका तस्बिरसँगै सामान्य प्रकाश, इन्फ्रारेड र पराबैंगनी प्रविधिबाट खिचिएका ६ वटा तस्बिर रहेको बताइएको छ। केही अभिलेखमा अमेरिकी सरकारी तथा सैन्य कर्मचारीले प्रयोग गर्ने ‘सीएसी’ कार्डसमेत समावेश हुन सक्ने संकेत भेटिएको छ।
अनुसन्धानमा लाइसेन्स स्क्यान गरिएको वास्तविक समयसँग अभिलेखमा उल्लेखित समय मिलेको पाइएको छ। अनुसन्धानकर्ताहरूले हर्ज, टार्गेट, फेडएक्स र सिजर्स इन्टरटेनमेन्ट जस्ता कम्पनीमा प्रयोग हुने परिचय स्क्यानिङ प्रणालीसँग समेत समानता देखिएको बताएका छन्।
परिचय प्रमाणीकरण कम्पनी आइडीस्क्यान डटकम ले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। कम्पनीले हरेक महिना २ करोड १० लाखभन्दा बढी परिचय प्रमाणीकरण गर्ने र करिब २० हजार स्थानमा सेवा दिने बताइएको छ।
साइबर सुरक्षा विज्ञहरूले यो घटना गम्भीर भएको बताएका छन्। उनीहरूका अनुसार लाइसेन्सको अगाडि–पछाडिको तस्बिर र अनुहारसम्बन्धी विवरण प्रयोग गरी नक्कली पहिचान, ऋण वा अन्य आर्थिक ठगी हुन सक्छ। पासवर्ड परिवर्तन गर्न सकिए पनि चोरी भएको अनुहार वा परिचय सजिलै परिवर्तन गर्न नसकिने भएकाले जोखिम अझ ठूलो रहेको विज्ञहरूको भनाइ छ।
साइबर सुरक्षा पत्रकार ब्रायन क्रेब्सको अनुसन्धान सार्वजनिक भएपछि नेक्सस बन्द भएको थियो। अहिले एफबीआईले डेटा कहाँबाट चुहियो, कति मानिस प्रभावित भए र कुन–कुन संस्थाको डेटा बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खवर
-
सेप्टेम्बर ३, २०२६ग्रीनभिल ...
-
ओहायो — अमेरिकाको ओहायो राज्यमा ...




















