म्याग्दीको बेनी नगरपालिका–२ खबरास्थित दारिमपाटामा सोमबार बिहान ११ बजे एक विभत्स र स्तब्ध पार्ने घटना घट्यो। घरको भान्छामा नियमित काममा व्यस्त ७२ वर्षीया वृद्ध मनकुमारी घिमिरेको उनकै २५ वर्षीय नाती (छोरीका छोरा) आशिष भनिने प्रसिद्ध बरुवालले धारिलो हतियार (दाउ) प्रहार गरी बीभत्स हत्या गरे। जनैपूर्णिमाका दिन भदौ १२ गते मामाघर आएका अन्नपूर्ण गाउँपालिका–६ घाराका आशिषले पछिल्ला दिनहरूमा अनौठो र असामान्य व्यवहार देखाउन थालेका थिए। उनको यो गतिविधिबाट सशंकित बनेका हजुरबुवा र हजुरआमाले उनलाई घर फर्काउनका लागि आमालाई खबर गरेपछि आइतबार आमा खबरा आइपुगेकी थिइन्।

सोमबार बिहान आशिषलाई घर फर्काउने तयारी भइरहँदा एकाएक घरायसी विवाद सुरु भयो। त्यही विवादका क्रममा आक्रोशित बनेका आशिषले भान्छामा काम गरिरहेकी हजुरआमामाथि अचनाक धारिलो हतियार प्रहार गरे, जसका कारण मनकुमारीको घटनास्थलमै मृत्यु भयो। हत्यालगत्तै रगताम्मे कपडामै खबराबाट पैदलमार्ग हुँदै बेनी बजारतातर्फ भाग्दै गरेका आशिषलाई हाँडेभिर क्षेत्रमा खटिएको प्रहरी टोलीले तुरुन्तै नियन्त्रणमा लियो। प्रहरीले हत्यामा प्रयोग भएको दाउसमेत बरामद गरिसकेको छ।

यस अपराधको पृष्ठभूमि झनै स्तब्ध पार्ने खालको छ। वैदेशिक रोजगारीका सिलसिलामा सन् २०२१ मा अमेरिका पुगेका आशिषले त्यहाँ आफू कार्यरत रेस्टुरेन्टमै आगजनी गरेका थिए। सोही अभियोगमा अमेरिकी अदालतबाट तीन वर्षको जेल सजाय भुक्तान गरेपछि केही महिनाअघि मात्रै अमेरिकी सरकारले उनलाई नेपाल डिपोर्ट गरेको थियो। अमेरिकामा आपराधिक सजाय काटेर फर्किएको डेढ महिना र मामाघर आएको दश दिनमै आफ्नै हजुरआमाको ज्यान लिनेसम्मको अपराधमा संलग्न भएपछि यो घटनाले सिङ्गो म्याग्दी जिल्ला र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। हाल प्रहरीले आशिषलाई नियन्त्रणमा लिएर घटनाको थप सूक्ष्म अनुसन्धान गरिरहेको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected