अमेरिकाबाट धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल सुरु, शुक्रबारदेखि ‘म त मर्छु कि क्या हो’ प्रसारण
अमेरिका । नेपाली हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा निर्माण गरेको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ शुक्रबारदेखि औपचारिक रूपमा प्रसारण सुरु भएको छ।
अमेरिकामा नेपाली समुदायको जीवन, संघर्ष, सफलता र प्रवासी अनुभवलाई हास्यव्यंग्यको शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यो सिरियल हरेक शुक्रबार धुर्मुस–सुन्तलीको युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ।
यसअघि भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि तय भएको प्रसारण मिति स्थगित गरिएको थियो। स्थगित भएको करिब दुई सातापछि सिरियल दर्शकमाझ आएको हो।
नर्थ क्यारोलाइनाको राले क्षेत्रलाई मुख्य पृष्ठभूमि बनाएर निर्माण गरिएको सिरियलको छायांकन राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो र चार्लोटलगायतका स्थानमा गरिएको छ।
‘म त मर्छु कि क्या हो’ धुर्मुसको चर्चित संवाद तथा थेगोलाई सिरियलको शीर्षक बनाइएको हो। सिरियलमा धुर्मुस र सुन्तलीसँगै पाका कलाकार मोहन मिश्र मुख्य भूमिकामा छन्।
यसै सिरियलबाट धुर्मुस–सुन्तलीकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी छन्। अभिनेता जीवन लुइँटेल अतिथि कलाकारका रूपमा देखिनेछन्।
सिरियलले अमेरिकामा बस्ने नेपालीको दैनिक जीवन, सामाजिक तथा सांस्कृतिक परिवेश, समुदायका गतिविधि, अवसर, चुनौती र प्रवासी जीवनका विभिन्न कथालाई हास्यव्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
सीताराम कट्टेलकै निर्देशनमा बनेको सिरियलमा दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मनिका चौलागाईं, चुडा धिमाल, धर्म भारती, शुभद्रा आचार्यलगायत कलाकारको अभिनय छ।
निर्माण पक्षले अमेरिकामा रहेर पनि नेपाली कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश सिरियलमार्फत दिन खोजिएको जनाएको छ।
सम्बन्धित खवर
-
अमेरिकाको टेक्सासस्थित ...
-
एप्पलले सेप्टेम्बर ९ मा आयोजना ...




















