ड्यालस–फोर्टवर्थ क्षेत्रकी अग्रणी समाजसेवी स्वर्गीय ईरा आचार्यको स्मृति तथा सम्मानमा टेक्सासमा रक्तदान कार्यक्रम सम्पन्न
ड्यालस, टेक्सास । ड्यालस–फोर्टवर्थ क्षेत्रकी अग्रणी समाजसेवी स्वर्गीय ईरा आचार्यको स्मृति तथा सम्मानमा टेक्सासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
ड्यालस डिस्ट्रिक्ट 2X1 अन्तर्गतका लायन्स क्लबहरू तथा ब्लड डोनर्स अफ अमेरिका, टेक्सास च्याप्टरको संयुक्त आयोजनामा आइतबार पूर्वनिर्धारित कार्यक्रमअनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
सन् २०१९ देखि प्रत्येक वर्ष नोभेम्बर महिनामा स्वर्गीय आचार्यको स्वर्गारोहणको मितिको सेरोफेरो पारेर उहाँको सम्झनामा रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ। मानव सेवा र सामाजिक कार्यमा सक्रिय उहाँको योगदानको स्मरण गर्दै सुरु गरिएको यो अभियानले निरन्तरता पाउँदै आएको छ।
कार्यक्रमका क्रममा तापक्रम करिब ३ डिग्री सेल्सियसमा झरेको अत्यन्त चिसो मौसमका बाबजुद पनि रक्तदाताहरू तथा स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएका छन्। चिसो मौसमको प्रवाह नगरी रक्तदान गर्न उपस्थित भएका रक्तदाता तथा कार्यक्रम सफल बनाउन खटिएका स्वयंसेवकहरूले मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा आयोजक संस्थाहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्।
स्वर्गीय ईरा आचार्यको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुँदै आएको यो रक्तदान कार्यक्रमले उहाँको सामाजिक योगदानलाई सम्झनुका साथै रक्तदानमार्फत मानव जीवन बचाउने सेवाभावलाई निरन्तरता दिँदै आएको छ।



















