नेपालका प्रधानमन्त्री ओली पदमुक्त
नेपाल व्यूरो । अन्ततः नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ राजनीतिक अभ्यास सुरु भएको छ । सोमबार दिउँसो १ बजेसुरु भएको संसदको विशेष अधिवेशनमा आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत मात्र परेपछि उनी पदमुक्त भएका हुन् । सो प्रस्तावको विपक्षमा १२४ मत परेको थियो । बैठकमा २३२ सांसद रहेकोमा १५ जना सांसद तटस्थ बसे । प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले प्रस्ताव अस्वीकृत भएको हो । बहुमत प्राप्त गर्न १३४ मत आवश्यक थियो । सबैभन्दा ठूलो दल नेकपा एमालेमा १२१ मत रहेकोमा माधव नेपाल–खनाल समूहका २८ सांसद बैठकमा सहभागी भएनन् । गत फागुन २३ मा सर्वोच्च अदातलको फैसलामा पछि नेकपा तत्काली एमाले र माओवादी केन्द्रमा विभाजित भएपछि एमालेमा नेपाल–खनाल समूहले समानान्तर समिति गठन गरेको थियो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए । यद्यपि जसपाको महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टीका एक सांसद तथस्ट रहे ।
उता प्रतिनिधि सभाले प्रधानमन्त्री ओलीलाई विश्वास मत नदिएपछि विश्वासको प्रतावमा विपक्षमा मत दिएका दलहरुले नेपालको संविधान २०७२ को धारा ७६ (२) बमोजिम गठबन्धनको सरकार गठन गर्न गृहकार्य आरम्भ गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै गठबन्धनको सरकार गठनका लागि पहल गर्न राष्ट्रपति समक्ष आग्रह समेत गरेका छन् । यद्यपि गठबन्धनको सरकार बनाउन जसपा निर्याणक रहने राजनीतिक विश्लेषकहरु बताउँछन् । गठबन्धनको सरकार बन्न नसके सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनः ओली नै प्रधानमन्त्री नियुक्त हुन सक्नेछन् । यसरी नियुक्त भएको ३० दिनभित्र पुनः संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमो संसद विघटन हुन सक्छ । कामचलाउ प्रधानमन्त्री ओलीले गत पुस ५ मा गरेको संसद विघटन सही थियो भन्ने प्रमाणित गर्न सोही चालबाजी रचेको विपक्षी दलहरुले आरोप लगाउँदै आएका छन् ।