टेक्ससको अर्भिङमा आयोजीत कन्सुलर घुम्ती शिविर समापन
टेक्सस– अमेरिकाको टेक्सस स्थित ड्यालसको अर्भिङ स्थित नेपाली मन्दिरमा आयोजीत कन्सुलर घुम्ती शिविर शनिवार सकिएको छ ।
नेपाली समाज टेक्सस तथा गैरआवासिय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा भएको कार्यक्रममा टेक्सस वरपर रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । शुक्रबार देखि सुरु भएको दुई दिने शिविरमा राहदानी नविकरण, गैरआवासिय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फि यात्रा अनुमतिपत्र तथा पर्यटक भिषा लगायतका सुविधाहरु उपलब्ध गराइएको थियो ।
कन्सुलर घुम्ती सेवाको उदघाटन अमेरिकाका लागी नेपाली राजदुत डा युवराज खतिवडाले गरेका थिए । उदघाटनका क्रममा उनले कन्सुलर घुम्ती शिविर मार्फत अमेरिकामा नेपाली समुदायलाई फाइदा पुगोस भनेर संचालन गरिएको बताए । गैरआवासिय नेपाली संघ एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, पुर्व अध्यक्ष केशव पौडेल, आइसिसि सदस्य यमुना भट्टराई, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, गैरआवासिय नेपाली संघका सचिव गौरीराज जोशी, समाजसेजी बासु भण्डारी, एएएनका अध्यक्ष विजयराज भण्डारी, नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष प्रेम अधिकारी, नेपाली मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेल नेपाली समाज टेक्ससका महासचिव भानु खरेल, लगायतले आ–आफनो धारणा राखेका थिए ।
टेक्सस अघि अमेरिकाका केही राज्यमा पनि यो शिविर संचालन भइसकेको छ । सेवा लिन बिहान ९ देखि राती अबेर सम्म नेपालीहरुको भीडभाड देखिन्थ्यो ।
‘यो कार्यक्रम निकै लाभदायक र बहुउपयोगी रहयो ’ नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र बाग्लले भने–‘ टेक्ससका टाढा टाढाबाट नेपाली समुदायहरु सेवा लिन आइपुगेका थिए ।’
उनका अनुसार कन्सुलर घुम्ती शिविरमा झण्डै तीन सय नेपालीले सेवा लिएका छन् । आईतबार र सोमबार टेक्ससको हयुस्टनमा कन्सुलर घुम्ती सेवा संचालन हुनेछ ।