पुरस्कारका लर्कोहरु

प्रशंसाका थुप्रोहरू

उच्च अंकका प्रमाणपत्रहरु

पाएका पगरीहरु

जोडेका भौतिक सम्पतिहरु

अनि जोडिन आएका दौतरीहरु

मलाई फुर्क्याउँछन्

जीत भनेको यहि हो

जिन्दगी भनेको यहि हो

 

साथी छन् मेरा

घमण्ड, धाक–रवाफहरु

स्वार्थ, फट्याइँ, लालचहरु

क्रोध, ईर्ष्या, कठोरताहरु

कुण्ठा, अज्ञान, दम्भहरु

 

मदहोश छु म

मेरो त्यो रमाइलो गाउँ

मेरा ती बाल–सखाहरु

मेरा बान्धव, बाबु–आमाहरु

मेरा उन्नतिका कामना गर्नेहरु

सवैलाई बिर्सिदिन्छु म

 

थाहा छैन मलाई

म जस्ता कति आए, गए

म पनि त्यहि ‘मुसा दौड‘ मा छु

लोभ–लालच, डर, घमण्डले मलाई दौडाउँछ

म दौडिरहन्छु, दौडिरहन्छु

 

सोच्दिन म

दौडिदा दौडिदै

भौतिक सामान जम्मा गर्दा गर्दै

मेरो पुरा जिन्दगी बितिसकेको हुनेछ

र एक दिन

भ्रमको खेल सकिनेछ

म हुने छैन

––बैकुण्ठराज आचार्य

मे २८, २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected