अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक


नेपाल व्यूरो
पोखरा । अन्नपूर्ण गाउँपालिका कास्कीले आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम राख्ने महत्वकाँक्षी योजना अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम मार्फत् यस्तो महत्वकाँक्षी योजना अघि सारेका हुन् । यद्यपि उनले पालिकाभित्र उत्पादन हुने वस्तु तथा खपतको तथ्याङ्क भने भने नीति तथा कार्यक्रममा उल्लेख गरेका छैन । कोराना भाइरसका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाउन वाध्य भएका युवाहरुका लागि सीप अनुकूलको स्वरोजगार तुल्याउने नीति स्थानीय सरकारको छ । उनले गाउँपालिकाभित्र एक घर एक बहुपोषकयुक्त करेसाबारी आयोजना पनि सार्वजनिक गरे । त्यस्तो करेसाबारीमा पदमिना, कुरिलो, कागती, तुलसा, रहठ्ठी, लेमनग्रास, मेवा, धनियाँ, घिउकुमारी जस्ता आयुर्वेदिक विरुवाहरु उत्पादन तथा उपयोग गर्ने कार्यक्रम समावेश गरिएको छ ।
त्यस्तै गाउँपालिकाको वडा नं. १, २ र ३ मा कफी पकेट क्षेत्र, वडा नं. ४,५,६ र ७ मा कोदो पकेट क्षेत्र, वडा नं. ८ मा सुन्तला पकेट क्षेत्र र वडा नं. ९, १० र ११ मा आलु पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । वडा नं. १० र ११ घान्द्रुकमा पर्दछ । आलु उत्पादनका दृष्टिले घान्द्रुकले प्रख्याती पाएको भए पनि अहिले भने त्यस्तो छैन । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी उत्पादनमा वृद्धि गर्न जग्गा चाक्लाबन्दी गर्ने र यान्त्रिकीकरणका लागि उपकरण खरिदमा ५० प्रतिशत सहुलियत प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाले जमिन जोत्ने अति विपन्न कृषकका लागि भने पूर्ण अनुदानमा ट्याक्टर उपलब्ध गराउने भएको छ । त्यस्तै बाझो खेतको प्रयोग नीति लिई भूमि बैंक खडा गरी गाउँपाकिाले कम्तीमा २० वर्षका लागि जग्गा लीजमा लिई व्यवसायिक खेती गर्न प्रस्तावना आव्हान गरी उपयुक्त फर्म छनौट गरिने भएको छ । पाँच रोपनी जग्गा वा सोभन्दा बढी जग्गामा एकै प्रकारको खेती गर्ने कृषकलाई व्यवसायिक कृषकको परिचयपत्र वितरण गरिने छ । पशु विकासका लागि एक कृषक एक दुहुनो गाई तथा भैंसी कार्यक्रम अघि सारिएको छ । पशुधन वीमा कार्यक्रम, बहुवर्षिय भूईँ घाँस, पोषिलो हिउँदे घाँस, बहुवर्षिय डाले घाँसका विवरुवा लगाउने तथा नर्सरी स्थापना जस्ता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ भने व्यवसायिक पशु तथा पंक्षी तथ मत्स्य पालक कृषकका निमित्त आवश्यक सीप तथा ज्ञान प्रदान गरी अनुदानको समेत व्यवस्था गरिने भएको छ ।
उद्यमशिलताको विकासका लागि परम्परागत रुपमा रहेका राडीपाखी, कम्बल, भाङ्ग्रा, झोला बनाउने तानहरुलाई आधुनिकीकरण गरी अन्नपूर्ण ब्राण्ड विकास र विस्तार गर्ने महत्वकाक्षी योजना पनि गाउँपालिकाले अघि सारेको छ । त्यस्तै हस्तकलाका सामाग्री र परम्परागत खाद्य पदार्थहरु जस्तैः सिन्की, गुन्द्रुक, मह, कफी, अलैंची आदिको समेत व्राण्ड बनाउने कार्यक्रम छ ।
त्यस्तै गाउँपालिकामा पर्यटकीय पूर्वाधार निर्माणका लागि डिपीआर तयारी गर्ने र घान्द्रुक तथा नागडाँडामा फोटोसुट सेन्टर स्थापना गर्ने, ढकुरपोखरीको फल्लापानीडाँडा, पाउँदुरकोट र घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म साहसिक खेल प्याराग्लाइडिङ्गको सम्भाव्यता अध्ययन एवं अनुमतिको प्रक्रिया अघि बढाउने, लुम्लेमा रक क्लाइमिङ्ग, महोडाँडामा जिप फ्लायर, सार्कुको घट्टेखोलामा क्यानोनिङ्ग, आदिको विकास र विस्तार गरी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
पूर्वाधार विकास अन्तर्गत गाउँपालिकाका सबै वडाहरुलाई जोड्ने गरी प्रस्ताव गरिएको अन्नपूर्ण वृहत् चक्रपथ निर्माण आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा सञ्चालन गरिने भएको छ । त्यस्तै खेलकूदको विकासका लागि एक वडा एक खेल मैदान निर्माण गरिने भएको छ ।