ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

प्रिया राना
ब्राजिल-२०२० मार्चको पहिलो साता देखि ब्राजिलमा देखिएको कोरोना भाइरसले अहिलेसम्म ब्राजिलमा ५ लाख भन्दा बढीको ज्यान लिइसकेको छ । बिश्वभरी झन्डै ३८ लाख ७८ हजारको मृत्यु हुदा ब्राजिलमा मात्रै ५ लाखको मृत्यु भएको छ । ब्राजिलमा अझै पनि दैनिक २ देखि ३ हजारको संख्यामा कोरोना संक्रमीतबाट मृत्यु हुने गर्छ भने झन्डै एक लाखको हाराहारीमा संक्रमीत थपिने गरेको छ । ब्राजिल संक्रमीतको हिसाबले तेस्रो स्थानमा भए पनि मृत्युदरको हिसाबले दोस्रो स्थानमा यथावत नै छ । मृत्युदरको हिसाबले पहिलो नम्बरमा रहेको अमेरिकामा अहिलेसम्म ६ लाख १७ हजार भन्दा माथीको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको भारतमा ३ लाख ८८ हजारको मृत्यु भैसकेको छ । अहिलेसम्म ब्राजिलमा ब्राजिल सरकार द्वारा कोरोना भाइरस रोकथामको लागि कुनै उल्लेखनीय काम गर्न सकेको छैन । ब्राजिलमा कोरोना भाइरस नियन्त्रण गर्न नसक्नु र लाखौले ज्यान गुमाइसकेको हुदा ब्राजिलका नागरिकहरुले सरकार र रास्ट्रपति जयर बोल्सोनारो विरुद्ध नारा जुलुस गर्दै आइरहेका छन् ।
झण्डै साढे एक्काईस करोड जनसंख्या भएको ब्राजिलमा कोरोना विरुद्धको भ्याक्सिन एकदमै थोरैले मात्र लगाएका छन् । ३०% जनसंख्याले मात्र पहिलो कोरोना विरुद्धको खोप लगाएका छन् भने १२% ले दोस्रो खोप पूरा गरेका छन् । ब्राजिलमा उमेरको हिसाबले खोप लगाउने गरिएकोले पहिलो चरणमा पहिलो दोज ६० बर्ष भन्दा माथिका वृद्धवृद्धालाई लगाएको थियोे भने अहिले दोस्रो चरणमा ४० देखि ६० बर्ष सम्मको उमेरकालाई लगाइदै छ ।
ब्राजिलमा संक्रमीतको संख्या र मृत्यु हुनेको संख्यामा नियन्त्रण नभए पनि अहिले यहाँका मानिसहरु भने दैनिकी आफ्नो कामकाज समान्य ढंगले चलाउदै आइरहेका छन् । आवातजावतका साधन, पसल, अफिस सबै चिजहरु खुल्ला गरिएका छन् । अहिलेसम्म ब्राजिलमा झन्डै १ करोड ७९ लाख मानिसहरु संक्रमीत भैसकेका छन् । ५ लाख ९ सयको मृत्यु भएको छ भने १ करोड ६२ लाख निको भएका छन् ।