आफ्नै तस्विर हेर्दा

तस्विरले  पनि मलाई

हेरिरहे जस्तो लाग्यो

एकोहोरो हेरिरहेँ

धेरै कुरा देखिरहेको जस्तो लाग्यो

 

मुसुक्क हाँसेको आफ्नो तस्विरमा

मैले आफ्नो बेदना

लुकाएको देखिरहेको छु

हजारौं पीडाका सिंढी चढेर

यहाँसम्म आइपुगेको देखिरहेको छु

 

के थाहा?

भोलीको के भरोसा !

निराशाको ठूलो खाल्टो पनि

देखिरहेको छु तस्विरमा

फेरि आफ्नै तस्विर हेर्न पाइने वा नपाइने हो

आशंका पनि देखिरहेको छु

 

हजारौं मान्छेका अनुहार पनि

देखेको छु तस्विरमा

ती अनुहारहरुसँग भएका मेरा

अन्तरसम्बन्ध, अन्तरसंघर्ष, अन्तर्द्वन्द

प्रतिबिम्बित भएको देखेको छु तस्विरमा

 

 

जीवन एउटा लडाइँ हो

कति  लडाइँ लड्दै

यहाँ सम्म आएँ

अझै कति लड्दै अघि जानु

त्यो अठोट पनि देखिरहेको छु

 

जीवनका रमाइला क्षणहरु

आशाभरोसाका परीहरु

सुन्दर बगैंचा फुलेका फूलहरु

मधुर सामिप्यता सह्चारिताहरु  

देखिरहेको छु तस्विरमा

 

बुझ्दैछु

जीवन बुझ्न

पहिले

आफ्नै तस्वीरलाई

नियाल्नु पर्ने रहेछ

आफ्नै उतारचढाव, भोगाई, सोचाईलाई

सिंहावलोकन, अवलोकन गर्नु पर्ने रहेछ

जुलाई , २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected