न यता
न उता
“जता मल्कु, उतै ढल्कु”
हामी जनता
एउटाले जोडदार भाषण गर्छ
हामी चम्कि चम्कि ताली ठोकिदिन्छौं
अर्कोले मजेदार भाषण गर्छ
हामी मरिमरि हाँस्दै थपडी बजाईदिन्छौं
उसको कुरो पनि ठिक लाग्छ
उसको कुरो पनि ठिक लाग्छ
साँचो कुरो के हो पत्तो छैन
तैपनि लुरुलुरु उनीहरुकै पछि लाग्छौं
हामी कस्ता?
न भुईंमा
न भाँडामा
अनि दुवै तिर खुल्ला
पुङ्गमाङ्ग जस्ता
जनताले बुझेका छन्
हामी नै सही हौँ
एउटा कुर्लिन्छ
तेरो अनुहार नदेखेको हो र जनताले
जनता हामी संग छन् अर्को सन्किन्छ
हेर्छौं रमिता हामीहरु
गर्छौं तर्क–बितर्क बिभिन्न मिडियामा
अनि जता भोज–भतेरको बन्दोबस्त छ
खुसुक्क उतै लागिहाल्छौं
हामी कस्ता ?
हरियो घाँसको मुठो देखाउँदै
मन्दिरमा बलि दिन लग्दै गरेको
निर्दोष बोका जस्ता !
–बैकुण्ठराज आचार्य
सेप्टेम्बर १५, २०२१
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...