काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको  पहिलो विश्व भेलाले संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको छ ।
आइतबार सम्पन्न सम्मेलनले सात बुँदे घोषणापत्र पारित गर्दै संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बनेको भन्दै संस्थाको गरिमा कायम राख्न संरक्षक परिषदले पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
एनआरएनको विधान अनुसार नै अक्टोबर २३–२५ का लागि तोकिएको दशौं विश्व सम्मेलन तथा महाधिवेशन हुन नसकेपछि एनसीसीहरुको विश्व सम्मेलन गरिएको थियो । एनसीसी अमेरिकाको संयोजनमा भएको सम्मेलनमा असी प्रतिशतभन्दा बढी एनसीसीहरुका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
खासगरी महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा देखिएको विवादका कारण संघको महाधिवेशन रोकिएको हो । केही देशमा एनसीसीहरुको निर्वाचनमा पनि विवाद देखिएको छ । संघको नेतृत्वले आफूखुसी नियमावली बनाएका कारण विवाद बढेको असन्तुष्ट पक्षको गुनासो छ ।
एनसीसीहरुको विश्व सम्मेलनले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी)को नेतृत्वले विधान विपरीत काम गर्दा संस्था नै गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । संस्थालाई गति दिन र महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने वातावरण तय गर्न सम्मेलनले संरक्षक परिषद्लाई आग्रह गरेको छ ।
‘गैरआवासीय नेपाली संघको  विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख  भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइ पुगेको छ।  संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारज्यूहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसंग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न  संरक्षक परिषद अग्रसर हुने हामीले विश्वास लिएका छौं,’  सम्मेलनले पारित गरेको घोषणापत्रमा उल्लेख छ ।
सम्मेलनले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै सवषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनु असमान व्यवहार भएको निष्कर्ष निकाल्दै आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमिने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको ठहर गरेको छ । सम्मेलनले आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न  एनसीसीको निर्वाचन डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न पनि माग गरेको छ ।
त्यस्तै, नेतृत्वले विवाद समाधानमा चासो नदेखाएपछि न्याय माग्न नियामक निकाय(परराष्ट्र मन्त्रालयमा) मा जानु स्वाभाविक ठहर पनि गरेको छ । परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान अनुसार कार्यान्वयन गर्न सम्मेलनले संघको वर्तमान नेतृत्वलाई आग्रह गरेको छ ।
सम्मेलनले नेपालमा हालै भारी बेमौसमी वर्षाका कारण बाढी पहिरोमा परी भएको धन जनको क्षतिप्रति एनसीसीहरुको तपÞर्mबाट गहिरो दुख ब्यक्त गर्दै पीडित परिवार र समुदायलाई सहयोग गर्न एनसीसीहरुले आआफ्नो तर्फबाट  सहयोग जुटाउने र आपसी समन्वय गरी पठाउने निर्णय पनि गरेको छ ।
भर्चुअल माध्यमबाट भएको सम्मेलनको पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए भने सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत समाजवादीका प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह लगायतले सम्बोधन गरेका थिए ।
त्यस्तै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन,  संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरुले सम्मेलनको सफलताको कामना गरेका थिए ।
वर्तमान आइसीसीका अधिकांश पदाधिकारीहरु सहभागी भएपनि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मा भने सम्मेलनमा सहभागी भएनन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected