देखिरहेको छु

सडकको  एक किनारमा

एउटा भिसा सेन्टर

एउटा लामो लाइन

जहाँ

नवयुवा–युवतीहरु

बैदेशिक रोजगारिमा जान उभिएका छन्

 

थाहा छ मलाई

उनीहरुको जाने ठाउँ

उनीहरुको बाध्यता र परिश्रम

आँसु र पीडाको सम्मिश्रण

बर्षौं देखि चलिरहेको यो सिलसिला

अनि यहाँ

परिवार चलेको छ

देश चलेको छ

 

देखिरहेको छु

सडकको अर्को किनारमा

एक हुल मान्छेहरु

अनि सुनिरहेको छु

… जिन्दावाद

…मुर्दावाद

चर्का–चर्का नाराहरु चलिरहेको छ

 

चिनेको पनि छु

साथ पनि दिएको छु

ती कराउनेहरुलाई

बुझेको पनि छु

तिनीहरुको लुकेको अभीस्ट

अनि छन को कति भ्रस्ट

 

दुवै किनाराको साक्षी म

कहिलेकाँहि मेरो

स्वाभिमान जाग्छ

विवेक कराउँछ

बिद्रोह गर भन्छ

तर म

त्यसलाई झापु हान्छु

अनि ती कराउनेहरु संगै

कतै एकान्त भट्टीमा

ढलीमली गर्छु

 

एउटा हुतिहारा म

एउटा झोले म

एउटा कठपुतली म

उनीहरु मलाई नचाईरहन्छन

जुलुसमा हिँडाईरहन्छन

 

हाले मलाई

फटाहाहरुले आफ्नो चक्रब्युहमा

न बिदेस गएर  श्रम गर्न सक्छु

न यहाँ मेहनत गर्न चाहन्छु

कसैको स्रोत–साधन, श्रमसंग अनेकौ तिकडम गर्छु

क्रमस: म दलाल बन्दैछु

 

 

नोभेम्बर १२, २०२१

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected