देखिरहेको छु

सडकको  एक किनारमा

एउटा भिसा सेन्टर

एउटा लामो लाइन

जहाँ

नवयुवायुवतीहरु

बैदेशिक रोजगारिमा जान उभिएका छन्

 

थाहा मलाई

उनीहरुको जाने ठाउँ

उनीहरुको बाध्यता परिश्रम

आँसु पीडाको सम्मिश्रण

बर्षौं देखि चलिरहेको यो सिलसिला

अनि यहाँ

परिवार चलेको

देश चलेको

 

देखिरहेको छु

सडकको अर्को किनारमा

एक हुल मान्छेहरु

अनि सुनिरहेको छु

जिन्दावाद

मुर्दावाद

चर्काचर्का नाराहरु चलिरहेको

 

चिनेको पनि छु

साथ पनि दिएको छु

ती कराउनेहरुलाई

बुझेको पनि छु

तिनीहरुको लुकेको अभीस्ट

अनि छन को कति भ्रस्ट

 

दुवै किनाराको साक्षी

कहिलेकाँहि मेरो

स्वाभिमान जाग्छ

विवेक कराउँछ

बिद्रोह गर भन्छ

तर

त्यसलाई झापु हान्छु

अनि ती कराउनेहरु संगै

कतै एकान्त भट्टीमा

ढलीमली गर्छु

 

एउटा हुतिहारा

एउटा झोले

एउटा कठपुतली

उनीहरु मलाई नचाईरहन्छन

जुलुसमा हिँडाईरहन्छन

 

हाले मलाई

फटाहाहरुले आफ्नो चक्रब्युहमा

बिदेस गएर  श्रम गर्न सक्छु

यहाँ मेहनत गर्न चाहन्छु

कसैको स्रोतसाधन, श्रमसंग अनेकौ तिकडम गर्छु

क्रमस: दलाल बन्दैछु

 

 

नोभेम्बर १२, २०२१

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected