नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि २६ सम्म हुने
वासिङ्गटन डीसी -नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण २०२२ जुन २३ देखि २६ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने पाँचौंअन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।
चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र , छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । गत वर्ष देखि वासिङ्गटन डीसी,मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहान गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत प्रदर्शन हुनेछ । स्थापना काल देखि ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएको चलचित्रहरु यो वर्ष पनि समावेश हुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई विभिन्न विधाका ‘अवार्ड’हरु द्धारा
पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।
कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिवलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो। २०२१ को संस्करण भने भर्चुअल रुपमा आयोजना भएको थियो। २०२२ को संस्करण अनलाइन तथा भौतिक रुपमा आयोजना गर्ने आयोजकको तयारी रहेको छ।