अमेरिकामा उल्लासमय हुदै रंगको पर्व होली
अमेरिका– अमेरिकामा यतिबेला सबैतिर रंगको पर्व होलीको रौनक छ । नेपाली समुदायहरु होलीको रंगमा रमाइरहेका छन् ।
वर्षमा एक पटक आउने होलीलाई उल्लासमय बनाउन अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरु उत्साही देखिएका छन् । दैनिक व्यस्त जीवनका बाबजुत पनि समय मिलाएर नेपालीहरु होलीमा रंगीएका छन् । विशेष गरि अमेरिकामा होलीको साइत भन्दा पनि अघि पछि नै समयको तारतम्य मिलाएर होली खेल्ने गरेका छन् ।
नेपालीहरु अधिक बसोबास रहेका अमेरिकी राज्यहरुमा विभिन्न नेपाली संग सम्बन्धीत संघ संस्थाले होली विशेष कार्यक्रम आयोजना गरेर एक आपसमा रमाउने गर्छन् । केवल रंग मात्र नभई आपसी भेटघाट र भाइचाराको सम्बन्ध स्थापित गर्न होली विशेष कार्यक्रमहरु आयोजना हुने गरेका छन् । होली विशेष कार्यक्रममा रंग संगै गीतसंगीत र खानपीन गरेर रमाइलो गर्छन ।
होलीमा बालबालिका देखि व्यस्क र बुढयौलीले छोएकाहरु समेत रमाउने गरेका छन् । होलीसंग सम्बन्धीत टिर्सट लगाएर नेपालीहरु होलीमा रंगीएका छन् । आफुले काम गर्ने अफिस कम्पनी देखि पारिपारिक जमघट तथा विभिन्न खुल्ला पार्कहरुमा नेपालीहरु जमघट भएर यतिबेला होली खेलिरहेको देखिन्छ । रंग खेल्नेहरु लोला र अबिरले चिन्नै नसकिने हुने गरेका छन् । रंग पोत्न मन नपराउनेहरु होली खेलिरहेकाहरुको रंग उत्सव हेरेर पनि रमाउछन् ।
अमेरिकाको विशेष गरि टेक्सस, न्युयोर्क, क्यालिफोर्निया, बाल्टीमोर, भर्जिनिया ,बासिङटनडिसी लगायत नेपाली बसोबास रहेका राज्यहरुमा होली धुमधाम हुने गरेको छ ।
यी राज्यहरुमा नेपाली समाजको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुले होली विशेष कार्यक्रमको चाजोपाजो जुराउने गरेका छन् ।
मधेशी एशोसिएसन अमेरिकाले हरेक वर्ष अमेरिकाका विभिन्न राज्यमा नेपालको तराईमा हुने धमाका होलीको झझल्को दिने गरेको छ । अमेरिकामा नेपालीहरु बसोबास रहेका अधिकांश राज्यमा संस्थाले होली मनाउने गरेको छ । ‘यसवर्ष पनि होलीपर्व धुमधाम भइरहेको छ’ मधेशी एशोसिएसन अमेरिकाका अध्यक्ष सत्यन्द्र शाहले भने– ‘प्राय हामीले नेपाली धेरै रहेका सबै राज्यमा होली कार्यक्रम राखेका छौ ।’
तिथीले शुक्रबार परे पनि अमेरिकामा अधिकांश होलीको कार्यक्रम आउदो शनिवार र आईतबार राखिएको छ । नेपाली अधिक बसोबास रहेको टेक्सस राज्यमा पनि शनिवार र आईतबार भव्य होली हुदैछ । नेपाली समाज टेक्ससले हरेक वर्ष गर्ने मेघा होली पनि यस वर्ष आईतबार ग्रेवभाइन लेकमा हुदैछ । इन्द्रेणी सांस्कृतिक संघ संग मिलेर होली राखिएको छ ।
होली तथा भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ’ नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले भने–‘ सबैलाई होलीमा आउन चुलो निम्तो छ ।’
यस्तै अन्य संघ संस्थाले पनि टेक्ससमा होली कार्यक्रम राखेका छन् । युलेश नेपाली समाज र हिमालय खबरले पनि शनिवार युलेशको बियरक्रिक पार्कमा होली राखेको छ ।
सबै तयारी भइरहेको छ’ आयोजक संस्थाका विकासराज न्यौपानेले भने– ‘रंग संगै आपसमा भेटघाट र रमाइलोका लागी कार्यक्रम आयोजना गरेका हौ ।’