टेक्सस– टेक्ससमा बग्रेल्ती नेपाली रेष्टुराहरु खुलेका छन् । रेष्टुरा खुलेसंगै नेपाली खाना पारखीहरु विकेन्डमा रेष्टुराहरुमा खानपीन र रमाइलोका लागी जमघट हुने गरेका छन् ।
रेष्टुरा बढेसंगै गुणस्तर र सेवामा भने कमी देखिएको सर्वसाधारणको व्यापक गुनासो आउन थालेको छ । सुरुमा नेपाली ग्राहकले धानिएका केही नेपाली रेष्टुराहरुले व्यापारसंगै विदेशी ग्राहक बढेपछि नेपाली ग्राहकलाई भेदभाव गर्ने गरेको आलोचना बढेको छ ।
विशाल केसी परिवारसहित टेक्ससको एक नेपाली रेष्टुरामा खानपीनका लागी पुगेका थिए । रेष्टुरामा विदेशीहरु धमाधम आइरहेका थिए । उनी अर्डर पर्खिरहेका थिए । लामो समय बित्दा समेत उनको टेबलमा अडर लिन कोही आएनन् । उनी पछि आएका श्वेत अमेरिकनलाई अर्डर लिन रेष्टुराका कामदार टेबलमा पुगीरहेका थिए । तर विशालको टेबलमा कोही आइपुगेनन् । लामो समय सम्म टेबलमा अर्डर पर्खिरहेका उनी काउन्टरमा गएर अर्डरका लागी भनेर पुगेपछि बल्ल उनको अर्डर लिन टेबलम आइपुगेका थिए ।

‘यो पहिलो– पटक हैन, पटक पटक यस्तो भइरहेको छ’ उनले युएसनेपाल पोष्टसंग गुनासो गदै भने– ‘विदेशीलाई हाइहाई नेपालीलाई बेबास्ता नेपाली रेष्टुराहरुले गरिरहेका छन् ।’

यो उनको मात्र हैन रेष्टुरामा पुग्ने अन्य धेरै नेपालीहरुको गुनासो रहेको छ ।
रेष्टुरामा आउने विदेशी अनुहार र नेपाली ग्राहकलाई गर्ने व्यवहार निकै फरक रहेको रेष्टुरा पुग्ने नेपाली खाना पारखीहरु बताउछन् ।

फोटवर्थका विलास शर्मा ले त झन तितो अनुभव झेलेका छन् नेपाली रेष्टुरामा । विदेशीलाई स्वागत गरिहाल्ने नेपाली रेष्टुराहरुको भेदभावपुर्ण व्यवहार प्रति उनको आक्रोस छ । अर्डर त के पानी समेत सुरुमा ल्याएर दिदैन उनले भने– ‘विदेश देखेपछि तुरुन्तै मेन्यु बोकेर पुगीहाल्छन्, तर हाम्रो पालो भने धेरै ढिलो आउछ ।’

सुरुमा रेष्टुरा संचालन गर्दा नेपाली ग्राहक तान्न हारगुहार गर्ने केही नेपाली रेष्टुरा संचालकहरु विदेशी ग्राहक आउन थालेपछि भने नेपाली अनुहार देखेपछि बेबास्ता गर्न थालेका छन् । लामो समय देखि टेक्ससमा नेपाली रेष्टुरा एभरेष्ट संचालन गरेका मनोज राईले भने आफुले नेपाली ग्राहकलाई कहिल्यै त्यस्तो व्यवहार नगरेको बताउछन् । “नेपाली ग्राहककै कारण हाम्रो रेष्टुरा चलेको छ, उनले भने– ‘नेपाली रेष्टुरेन्ट नेपाली विना चल्दैन, विदेशीले मात्र चलेको भनेर कसैले घमन्ड नगर्दा हुन्छ ।’
काममा लगाएर श्रम शोषण पनि
केही नेपाली रेष्टुराले नेपाली विद्यार्थी तथा अमेरिका आएका बाआमालाई काममा लगाएर पारिश्रमिक समेत नदिएको गुनासो समय– समयमा आउने गरेको छ । तर सबै रेष्टुरामा भने यो समस्या छैन । एकाधले गर्दा अन्य व्यवसायलाई समेत नकारात्मक प्रभाव परेको रेष्टुरा व्यवसायीहरु बताउछन् । विशेष गरि विद्यार्थीहरुसंग कागजपत्र नहुने भएकाले रेष्टुरामा बढी काम गर्छन । कम दर रेटमा काम लगाएर भनेको समयमा पारिश्रमिक समेत नदिएको देखिन्छ ।
नाम चलेको रेष्टुराले नै टेक्ससमा केही समय अघि केही विद्यार्थी र अभिभावकलाई काम गरेको पारिश्रमिक नदिएपछि सामाजिक संजालमा समेत नाम किटेर श्रम शोषण गरेको खुलेको थियो । केही रेष्टुरा मालिकले विद्यार्थीलाई काम दिएको र भनेको दर रेटमा काम गर्न दबाब दिने गरेका छन् ।
रेष्टुरामा काम गर्ने सलमा खत्रीले आफुलाई अति नै कम दर रेटमा काम गर्नु परेको गुनासो गर्छिन । पारिश्रमिक बढाउन रेष्टुरा संचालकलाई अनुरोध गर्दा काम छाडेर जान धम्की दिने गरेको बताउछिन् । आफुसंग कागजपत्र नहुदा नै यसरी रेष्टुरामा काम गर्न बाध्य हुनु परेको छ , उनले भनिन– ‘काम गरेको पारिश्रमिक समेत भनेको समयमा पाइदैन ।’
अन्यत्र काम पाउन समस्या भएपछि पढन आएका विद्यार्थी सबै सहेर नेपाली रेष्टुरामा काम गर्न बाध्य छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected