नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवका चलचित्रहरू सार्वजनिक
वासिङ्गटन डीसी-नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहहरूको सूची सार्वजनिक गरिएको छ। नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दिपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्रहरू महोत्सवमा प्रदर्शन हुने जनाइएको छ।
जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुनेछन्। वासिङ्टन डिसी महानगर क्षेत्र आधारित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित ‘एएफआई सिल्भर थियटर’मा हुने र चलिचत्रहरू चाहिँ एएफआई तथा ‘ओल्ड ग्रिनवेल्ट थिएटर’मा समेत प्रदर्शन हुने जनाइएको छ।
आयोजक ‘नेपाल-अमेरिका फिल्म सोसाइटी’का अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको, बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को प्रदर्शनबाट चलचित्र महोत्सवको उद्घाटन हुनेछ। त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्वेन्डसनको निर्देशनमा बनेको ‘पासाङ: इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ।
स्थापना कालदेखि सहकार्यरत ‘ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडा’सँगको सहकार्यमा यो वर्ष दुई चलचित्र प्रदर्शन हुने र निर्देशक सुबर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’को विशेष प्रदर्शन हुने समेत आयोजकले जनाएको छ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। साथै यस वर्षका निर्णायक मण्डलको नाम केहि दिन पछि सार्वजनिक गरिने महोत्सव आयोजकले जनाइएको छ।
महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ। म्यारिल्याण्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।
‘कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शनहरू भौतिक रुपमा नै आयोजना गर्न लागिएकोले उत्साहित भएका छौं। यसले सम्पुर्ण दर्शक तथा सहभागीहरुमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूती गराउने छ।’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भन्छन्।
महोत्सवका लागि आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो। म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।