टेक्ससमा नेपाली स्वाद पस्कदै नेपाली रेष्टुरेन्ट

–एस शर्मा
लोकप्रिय चलचित्र निर्देशक तथा संचारकर्मि नारायण पुरी अमेरिका आएर ठयाक्कै तीन वर्ष पुरा भयो । परदेश आएर पनि कलाकर्मलाई निरन्तरता दिदै आएका पुरीले पछिल्लो क्रममा व्यवसायमा हात हालेका छन् । उनले टेक्ससको ड्यालस सहरको अर्भिङ बेल्टलाइनमा सुविधा सम्पन्न वार सहितको साग्रिला बार एन्ड ग्रिल नामक रेष्टुरा हालै संचालनमा ल्याएका छन् । झन्डै पाच करोड रुपैयाको लगानीमा संचालनमा आएको रेष्टुरामा नेपाली खानाको स्वादलाई विदेशी पारखी माझ पुराई रहेका छन् ।
नेपाली खानालाई अन्तराष्ट्रिय करण गर्नु पनि हाम्रो उद्देश्य रहेको छ’ संचालक पुरीले भने–‘नेपाली खानाले विदेशीहरुलाई नेपाली रेष्टुरेन्टमा तानिरहेको छ ।’ त्यसो त पुरीकै लगानी रहेको फिस्टेल नेपाली रेष्टुरेन्ट नेपाली पाटि, क्याटरिङ, भोजभतेर लगायतका लागी लोकप्रिय छ ।
पछिल्लो क्रममा नेपाली समुदायको अधिक बसोबास रहेको टेक्सस राज्य नेपाली रेष्टुराहरुको संख्या बढीरहेको छ । अमेरिकाका विभिन्न राज्यहरुमा नेपाली समुदायले संचालन गरेका रेष्टुराहरुमा नेपाली स्वादले स्वादका पारखीहरुलाई लोभ्याउने गर्छ । टेक्सस राज्यको ड्यालस सहर जहाँ नेपाली समुदायको बसोबास बाक्लो छ, यहाँ पनि नेपाली स्वाद पस्कने रेष्टुराहरुले नेपाली समुदायको मन जितिरिहेका छन् । नेपाली ढिडो, गुन्द्रुक, सेलरोटी देखि मम चाउमिन, छोइला लगायत सबै जसो परिकारहरु यहाँ संचालित रेष्टुराहरुले ग्राहकलाई सेवा दिदै आएका छन् । पछिल्लो समयमा यहाँ ग्यास स्टोर भित्रै तथा घरबाटै समेत म:म तयार पारेर डेलिभरी गर्ने नेपालीहरुको संख्या पनि त्यतिकै छ । रेष्टुरामा त झन म:म नपाकेको दिनै हुदैन । यी रेष्टुरामा बन्ने नेपाली परिकारहरुको स्वाद चाख्ने नेपाली मात्रै हैन विदेशी पनि त्यतिकै रहेको संचालकहरु बताउछन् । अधिकांश रेष्टुराका नेपाली स्वाद लिने ग्राहक त अमेरिकन बढी छिन् ।
प्राय हरेक समयमा यहाँका प्राय रेष्टुराहरुमा गोरा छालाका अमेरिकनहरु स्वाद मानी मानी नेपाली परिकारहरु खाइरहेको भेटिन्छन् । केही महिना युलेस मेनस्टीट नजिकै खोलिएको गोर्खा बार एन्ड ग्रिल नेपाली रेष्टुरेन्ट पनि नेपाली संगै विदेशी पाहुनाहरुलाईका लागी रोजाई बनेको छ । लस भेगासमा झन्डै दस वर्ष रेष्टुरेन्ट व्यवसायको अनुभव बटुलेका नारायण कडेलको परिवारले रेस्टुरेन्ट संचालनमा ल्याएका हुन । आठ महिनाको छोटो अवधिमै रेष्टुरेन्टले लोकप्रियता हासिल गरिसकेको छ । ‘नेपाली मात्र हैनन विदेशीहरुलाई पनि लोभ्याएको छ संचालक विवेक कडेलले भने– ‘यसले व्यवसाय मात्रै हैन, नेपाली खानाको प्रचार समेत गर्ने अवसर पाएका छौ ।’ उनका अनुसार अमेरिकन गोराहरुले मम चाउमिन, सेकुवा लगायतका परिकारहरुको स्वाद जिब्रो फटकारेर लिने गरेको बताए । नेपाली भारतीय, पाकिस्तानी देखि स्थायिन अमेरिकनहरु ग्राहक रहेको कडेलले बताए । रेष्टुरामा पाटि गर्नेहरुका लागी छुट्टै हलको समेत व्यवस्था रहेको छ ।
नेपाली खानाका पारखीहरु बढ्दै गएपछि एक पछि अर्को गदै धमाधम यहाँ नेपाली रेष्टुराहरु खुल्ने क्रम बढेको छ । यी रेष्टुराहरुले होम डेलिभरी देखि ग्राहकलाई सबै सुविधाहरु उपलब्ध गराउदै आएका छन् । नेपाली स्वाद पस्कने रेष्टुरेन्ट संगै यहाँ पार्टि कल्चर पनि त्यतिकै विकसित हुदै गइरहेका छन् । रेष्टुरेन्टमा विभिन्न पार्टिको आयोजना गरेर नेपाली स्वाद लिने नेपालीहरु पनि दिनानुदिन बढ्दै गएको व्यवसायीहरु बताउछन् । अ नेपाली ग्राहकको रोजाई नेपाली खाना मम चाउमिन नै बढी हुने गरेको छ । परिवारका सदस्य देखि युवायुवति नेपाली स्वाद लिन यहाँ खुलेका नेपाली रेष्टुरामा पुग्ने गरेका छन् । कतिपय घरमै अर्डर गरेर पनि स्वाद लिने गर्छन् । यहाँका केही रेष्टुराले लाइभ ब्यान्ड कार्यक्रम गरेर समेत नेपाली स्वाद तर्फ स्वदेशी तथा विदेशी पाहुनालाई आकर्षित गरिरहेका छन् । धेरै विदेशीले नेपाली रैथाने खानाको बारेमा जानकारी समेत यी रेष्टुराबाट पाएकाले नेपाल चिनाउन समेत मदत पुगेको स्थानिय रेष्टुरा व्यवसायीहरुको दाबी छ । त्यसो त यहाँका केही रेष्टुरा व्यवसायीले नेपाली खाना संगै नेपाल चिनाउने वृत्तचित्र समेत ग्राहकको रुपमा आउने विदेशीलाई देखाएर पर्यटन प्रर्वद्धनमा समेत टेवा पुर्याउदै आएका छन् ।
ड्यालस वरपर नेपाली समुदायको बसोबास बढ्दै गएपछि झन्डै एघार वर्ष यता नेपाली रेष्टुराहरु खुल्ने क्रम बढेको हो । अठार वर्ष अघि समाजसेवी तथा नेपाली समाज टेक्ससको पुर्व अध्यक्ष कृष्ण लामिछाने यहाँ फाटफुट मात्रै नेपालीहरु थिए । उनि आएपछि अर्भिङ क्षेत्रमा अम्बर श्रेष्ठले चौतारी नामक रेष्टुरा संचालनमा ल्याएका थिए । त्यही चौतारी नेपालीहको भेटघाट तथा खानपीनको थलो बने पनि त्यो केही समय चलेर बन्द भएको थियो । ‘सुरुमा म यता आउदा खासै नेपाली रेष्टुरा संचालनमा थिएनन् समाजसेवी कृष्ण लामिछानेले भने–‘नेपालीको संख्या पनि कम भएका कारणले पनि रेष्टुरा व्यवसाय खासै थिएन ।’ उनका अनुसार केही वर्ष यता नेपालीको संख्या बढेपछि नेपाली रेष्टुरा खुल्ने क्रममा बुद्धि भएको हो । त्यसै गरी अध्ययनका लागी आउने नेपाली विद्यार्थीहरु पनि अधिक रहेकाले उनिहरुले राती अबेर सम्म काम गर्ने भएकाले पनि यहाँका रेष्टुराहरु चलाउन सहज बनेका छन् ।
टेक्ससको ड्यालसको अर्भिङमा झन्डै दस वर्ष अघि टेमटेसन नेपाली रेष्टुरा खुलेपछि धमाधम यहाँ अरु पनि खुल्न थालेका हुन । अहिले यस क्षेत्रमा नेपाली रेष्टुराहरु दर्जन बढी भइसकेका छन् । फस्टाउदो नेपाली रेष्टुराको व्यवसाय संगै ग्यास स्टोर संचालन गदै आएका कमल सत्यालले पनि यहाँको बेल्टलाइनमा रहेको पुरानो टेमटेसन इन्डियन एन्ड नेपाली कुजीन ९ महिना अघि खरिद गरेर संचालन गदै आएका छन् । ‘नेपाली स्वाद पारखीहरु बढ्दैछन्’ उनले भने– ‘नेपाली मात्र हैनन विदेशी समेत नेपाली स्वादबाट लोभिएका छन् ।’
नेपाली रेष्टुराले नेपाली स्वाद पस्कनु संगै नेपाली युवायुवतिहरुलाई रोजागरी समेत दिएका छन् । प्राय अध्ययनका लागी आएका विद्यार्थीहरुले यस्ता रेष्टुराहरुमा सहजै काम पाएका छन् । सामान्यत: एउटा रेष्टुरामा १० देखि १५ जनाले काम गर्छन् ।
फोर्थ ओर्थमा युमेश श्रेष्ठले नेवारी खानालाई मात्रै केन्द्रित गरेर नेपाली क्याफे संचालनमा ल्याएका छन् । नेवारी खाजा सेट संगै विभिन्न भेराईटीमा नेवारी खानाको स्वाद उनले पस्कदै आएका छन् । ‘नेवारी खाना पनि धेरैले खोजेको देखेपछि नेवारी रेष्टुरा खोल्ने सोच आयो’ उनले भने, ‘नेवारी खाना पनि सबैका लागी रोजाई बन्दै आएको छ ।’
यहाँ खुलेका नेपाली रेष्टुराहरु खाना संगै नेपालीहरु भेटघाट र जमघट हुने थलोको रुपमा समेत विकसित भएका छन् । नेपालमा जस्तै पार्टि सेमिनारहरु यताका रेष्टुराहरुमा बग्रेल्ती हुन्छन् । हङकङको बसाई छाडेर अमेरिका भित्रिएका मनोज राईले अर्भिङमा संचालन गरेको एभरेष्ट रेष्टुरा चल्तीको रेष्टुरा मध्येमा पर्छ । यहाँ पनि प्राय नेपालीहरु नेपाली स्वाद लिन दिनुह भीड लाग्छ ।
हिमालयन अरोमा, रमाईलो रेष्टुरेन्ट, नमस्ते, क्याफेमन्डु, म:म टु गो, पिक रेष्टुरेन्ट, म:म स्टप लगायतका नेपाली रेष्टुराहरु पनि त्यतिकै चल्तीमा छन् । केही नेपाली रेष्टुराहरु पनि अझै खुल्ने क्रममा छन् । सामान्यत: एउटा रेष्टुरामा दुई देखि तीन करोड रुपैया लगानी रहेको छ । ति रेष्टुराहरुमा १० देखि १५ जना नेपाली युवायुवतिले रोजगारी पनि पाएका छन् ।
तस्विर पनि छन् ।