कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सृजनाचोकसहित पोखराका मुख्य चोकमा आकाशे पुल बनाउने घोषणा गरेकी छन् । चुनावी घरदैलोका क्रममा सृजनाचोकमा भएको कोणसभामा उनले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्न सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक लगायतका मुख्य चोकमा आकासेपुल अत्यावश्यक रहेको जनाएकी हुन् ।
कास्की २ मा यसअघि निर्वाचित रवीन्द्र अधिकारीकै पहलमा सिर्जनाचोकमा आकाशे पुलको डिपीआर बनेर बजेटसमेत विनियोजन भइसकेको छ । उनले भनिन्, ‘जितपछि आकासेपुलसहित सुन्दर पोखरा बनाउने अभियानमा जुट्नेछु ।’

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले २ पार्टी एक भएर जनतामा आएको उल्लेख गर्दै जनताले एकता र समृद्धिको सुरुआतलाई भव्य अनुमोदन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘जनतले एकतालाई अनुमोदन गर्छन् । स्थायी सरकार बनेको छ । विकासले गति लिएको छ । यो गतिलाई निरन्तर राख्य पनि नेकपाको जित जरुरी छ ।
उनले करको बारेमा कांग्रेसले भ्रम सिर्जना गरेको दाबी गरे । कांग्रेसले जितेका नगरपालिकामा भन्दा पोखरामा करको दर बढी भएको पाइए मेयरसहित नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने उद्घोष गरे । उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस् कांग्रेसले जितेको नगरमा भन्दा पोखरामा करको दर कम छ । बढी भएको प्रमाणित गर्नुहुन्छ भने नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न लगाउँछौं ।’
पोखरा ८ का चुनावी कमान्डर नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुबेदी, सोमनाथ बराल, रुद्रनाथ बराल लगायतले विकास र समृद्धि संस्थागत गर्न र युवा तथा महिला सशक्तिीकरणका लागि नेकपालाई जिताउन आग्रह गरे ।

शनिबार सृजनाचोकबाट सुरु भएको चुनावी घरदैलो रत्नचोक, फिर्के, नागढुंगा हुँदै चालिसेचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोका क्रममा उम्मेदवार विद्याले वृद्धभत्ता, विधवा भत्ता जस्ता सामाजिक सुरक्षाका योजना ल्याउने पार्टीले वृद्धहरुको सम्मानपूर्वक बाँच्ने आधार बनाइदिएको बताइन् । उनले युवालाई शिक्षा, व्यक्तित्व विकास र रोजगारीको व्यवस्था गर्न समृद्ध नेपाल जरुरी रहेको बताइन् । उनले भनिन्, ‘समृद्धि, विकासबाटै रोजगारीका अवसर सिर्जना र जीवनस्तर उकास्ने मार्गचित्र नेकपासँग मात्रै छ ।’

पोखरा २१ का विभिन्न कमिटी
पोखरा २१ कृष्ती, निर्मलपोखरीमा युवा तथा विद्यार्थी परिचालन कमिटी र बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पेशागत कर्मचारी परिचालन कमिटी बनेका छन् । अर्जुन भण्डारीको संयोजकत्वमा ५ सय १ सदस्यीय युवा तथा विद्यार्थी परिचालन कमिटी र निर्मलबहादुर अधिकारीको संयोजकत्वमा १ सय १ सदस्यीय बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पेशागत कर्मचारी परिचालन कमिटी बनेको नेकपा कास्की २ चुनाव प्रचारप्रसार समिति सहसंयोजक झपट रानाभाटले जानकारी दिए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पोखराको विकास र समृद्धिको जग नेकपाले राखेकाले यसको मूर्त रुप पनि नेकपाले मात्रै निर्माण गर्न सक्ने जिकिर गरे । विद्यामा नेतृत्व, व्यक्तित्वदेखि प्राज्ञिक सबै क्षमता भएकाले जनताको रोजाइको उम्मेदवार पार्टीले अघि सारेको जनाए । कार्यक्रममा नेकपा पोखरा महानगर कमिटी अध्यक्ष दीपक पौडेल र युवा नेता दिलीप न्यौपानेले पनि बोलेका थिए ।
संवेदना होइन, योग्यताले मैदानमा ः कुसुम
नेकपा कास्की २ को भेलाले २ सय ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । भेलामा नेकपा नेतृ गायत्री गुरुङ ‘कुसुम’ले विद्यामा रवीन्द्रको क्षमताको प्रतिबिम्ब रहेको औंल्याइन् । उनले विद्या आफ्नै क्षमताले उम्मेदवार बनेको उल्लेख गरिन् । कुसुमले भनिन्, ‘संवेदनाले मात्रै उम्मेदवार हुनु भएको होइन । उहाँमा योग्यता, क्षमता र विकासको रोडम्याप पनि छ ।’ विद्यार्थी र महिला आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गरी पार्टीले उम्मेद्वार बनाएको उनले उल्लेख गरिन् ।

अम्बिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सीता विक, राधिका शाही योगी, नेकपा नेता कमलमोहन पौडेल लगायतले बोलेका थिए ।
ठूली मजुवामा परिचालन कमिटी
पोखरा १५ मा पनि दिनहुँजसो घरदैलो जारी छ । आइतबार ठूली मजुवामा चुनावी घरदैलो तथा कोणसभा गरिएको छ । कोणसभामा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डले नेकपाको सरकार भएकै बखत ठूला योजना सुरु भएको र त्यसलाई अनुमोदन गर्न नेकपा उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु, पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेल, वडा कमिटी अध्यक्ष भक्तबहादुर खत्री, लगायतले बोलेका थिए । वडामा थपबहादुर थापाको अध्यक्षतामा ५१ सदस्यीय ठूली मजुवा टोल निर्वाचन परिचालन कमिटी बनेको छ ।

३३ मा जनजातिको भेला
पोखरा ३३ मा भएको जनजतिको भेलाले सन्देश पुनको संयोजकत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ । कार्यक्रममा नेकपा कास्की सदस्य भीम कार्कीले जनजाति, उत्पीडित, अल्पसंख्यक र पिछडिएकाको आवाज बोल्ने पार्टी नेकपा नै भएको बताए । उनले समतामूलक समाज निर्माणका लागि नेकपालाई जनताले जिताउने विश्वास व्यक्त गरे । भेलामा पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, वडा सदस्य लीलबहादुर श्रेष्ठ र पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद अधिकारीले बोलेका थिए ।
१६ मा चुनावी अभियान

नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ को महिला समितिले आइतबार भेला आयोजना गरेको छ । भेलाले गुमादेवी अधिकारी गौतमको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरेको छ । समितिको उपसंयोजकमा सविना राणा र लालशोभा गुरुङ छन् । उपसमितिले चुनावी अन्तत्र्रिmयासहित प्रचारलाई तीव्र बनाउने जनाएको छ । यहाँ नेकपाले मंसिर ८ र ९ गते उम्मेदवारसहित घरदैलो गर्ने जनाएको छ ।
विद्याललाई कलाकारको दरिलो साथ
चुनावी मैदानमा होमिएकी नेकपा उम्मेदवार विद्यालाई सांस्कृतिक प्रस्तुतिसहित कास्कीका कलाकारले मत मागेका छन् । दिनहुँजसो हुने चुनावी घरदैलो तथा कोणसभामा सांस्कृतिक नृत्य तथा गायनको माध्यमबाट कलाकारले नेकपालाई मत दिन आग्रह गरिरहेका छन् । गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दहाल, तारापति सुवेदी, कृष्ण भण्डारी, शिवहरि ढुंगाना लगायत थुप्रै कलाकार चुनावी अभियानमा रहेको सांस्कृतिक संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।
सोमबार र मंगलबार पोखरा १७ मा उम्मेदवारसहितको घरदैलो हुनेछ । सोमबार बिहान दोबिल्लाबाट मतदाताको घरदैलोमा पुगी प्रगतिटोल, लामतरा हुँदै महतगौंडामा कोणसभा गरिने निर्वाचन परिचालन कमिटी संयोजक सुवास ढुंगानाले बताए । सोमबारै दिउँसो कञ्चन बोरिङ, तीनकुने हुँदै हनुमानटोलसम्म घरदैलो गरी समापन सभा हुने उनले जानकारी दिए ।
मंगलबार सिमलटँुडा, बेलघारी, डेभिजफल, डेमसाइड, बिरौटाचोक लगायतका सभामा घरदैलो, विभिन्न ठाउँमा चुनावी सभा र विरौटचोकमा वडा स्तरीय चुनावी सभा हुने ढुंगानाले जानकारी दिए । मंसिर ४ देखि १० गतेसम्म मतदाता शिक्षाका दिन घरदैलो गरिने निर्वाचन परिचालन कमिटी सहसंयोजक ईश्वरी लम्सालले जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected