अमेरिकी अदालतले नेपाली, होन्डुरस र निकारागुवाली TPS अन्त्य गर्न ट्रम्प प्रशासनलाई अनुमति

सान फ्रान्सिस्को — नवौं सर्किटको अपिल अदालतको तीन न्यायाधीशहरूको प्यानलले आज ट्रम्प प्रशासनलाई अस्थायी संरक्षित स्थिति (TPS) अन्त्य गर्ने बाटो खुला गरिदिएको छ। अदालतले कुनै स्पष्टीकरण बिना नै जिल्ला अदालतको आदेशलाई रोक्ने निर्णय लिएको हो।
जिल्ला अदालतले जुलाई ३१ मा दिएको आदेशअनुसार, गृह सुरक्षा विभाग (DHS) ले नेपाल, होन्डुरस र निकारागुवाका TPS अन्त्य गर्ने निर्णयलाई कम्तीमा १८ नोभेम्बर २०२५ मा सुनुवाइ हुनेसम्मका लागि स्थगन गरेको थियो। तर, अपिल अदालतले सो आदेशलाई “आपतकालीन स्थगन” (emergency stay) गर्दै ट्रम्प प्रशासनलाई साथ दिएको छ।
यस निर्णयसँगै, नेपाली TPS धारकहरूले तत्काल आफ्नो कानुनी स्थिति र काम गर्ने अधिकार गुमाउनेछन्। होन्डुरस र निकारागुवाका TPS धारकहरूले भने सेप्टेम्बर ८ बाट कानुनी स्थिति गुमाउनेछन्।
“म यस अदालतको निर्णयले निकै दुःखी भएकी छु। म वर्षौंदेखि अमेरिकामा बस्दै आएकी छु, मेरा छोराछोरी अमेरिकी नागरिक हुन्, उनीहरूले नेपाल कहिल्यै देखेका छैनन्। यो निर्णयले हाम्रोजस्तो हजारौं परिवारलाई डर र अनिश्चिततामा पारेको छ,” नेपालकी TPS धारक वादी सन्ध्या लामाले भनिन्।
UCLA को Center for Immigration Law and Policy का निर्देशक अहिलान अरुलानन्थमले भने, “अदालतले कुनै कारण नै नबताई निर्णय लिएको छ। किन यो ‘आपतकालीन’ भयो भन्ने समेत नबताई अदालतले प्रक्रियागत न्याय (due process) मा गम्भीर कमी गरेको छ। यसले हजारौंलाई अवैध हिरासत र निर्वासनको जोखिममा पारेको छ।”
अमेरिकाभरका आप्रवासी अधिकारकर्मीहरूले अदालतको यो कदमलाई कठोर आलोचना गरेका छन्। National Day Laborer Organization की वकिल जेसिका बान्सलले भनिन्, “यो निर्णयले दशौं हजार परिवारलाई अर्थहीन पीडामा पार्नेछ। TPS अन्त्यलाई असंवैधानिक ठहर गर्ने जिल्ला अदालतको आदेशलाई वेवास्ता गर्दै अपिल अदालतले प्रशासनलाई साथ दिएको छ।”
नेपालका TPS धारकहरूले अमेरिका बस्दै आएको १० वर्ष नाघिसकेको छ भने होन्डुरस र निकारागुवाका TPS धारकहरूले २६ वर्षभन्दा बढी समयदेखि कानुनी रुपमा यहाँ बसोबास गर्दै आएका छन्। तर DHS का आदेशले उनीहरूलाई अब ६० दिनमै कानुनी स्थिति गुमाउने चेतावनी दिएको छ।
“म विश्वास गर्न सक्दिन कि सरकारले मेरो कानुनी स्थिति खोस्नेछ र मलाई मेरो बच्चाबाट टाढा पार्नेछ। म बच्चा हुँदादेखि होन्डुरस गएको छैन,” होन्डुरसका TPS धारक झोनी सिल्भाले भने।
ACLU Foundation of Northern California की वकिल एमी म्याक्लिनले भनिन्, “यो निर्णय मानवीय सुरक्षामाथिको ठूलो प्रहार हो। TPS सजिलै ध्वस्त पार्न सकिँदैन। यो लडाइँ यहीँ सकिँदैन।”
प्रभावितहरू र कानुनी समूहहरूले स्थायी समाधानका लागि लडाइँ जारी रहने बताएका छन्। “हामी थाक्दैनौं, हामी हाम्रो परिवारलाई अलग पार्ने प्रयास रोक्छौं। हामी स्थायी सुरक्षाको लागि लडिरहनेछौं,” National TPS Alliance का नेतासमेत रहेका होन्डुरसका TPS धारक टेओफिलो मार्टिनेजले भने।