नेपलिज अमेरिकन च्याम्बर अफ कमर्स काे अध्यक्षमा जाेशी

नेपलिज अमेरिकन च्याम्बर अफ कमर्स, डालस टेक्ससको हालै सम्पन्न निर्वाचनबाट आगामी २०२०-२०२१ का लागी बाल जोशीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ।
च्याम्बरको तेस्रो कार्यकालका लागी अध्यक्षमा जोशी, उपाध्यक्षमा सुदिप अधिकारी, महासचिवमा प्रदिप गिरी, सचिवमा डाक्टर शिलु घिमिरे न्यौपाने र कोषाध्यक्षमा स्मृति कार्की सीपिए निर्विरोध निर्वाचित भएका हुन्। यसै गरी संस्थाको कार्य समिति सदस्यहरूमा डाक्टर विष्णुमाया उपाध्याय, सन्तोष चौधरी, सुरेश पोख्रेल, कृष्ण भण्डारी, शैलेन्द्र मानन्धर, सुनिल गौतम, विजयराज भट्टराई, प्रेम शाही सिपिए र सुरज पौड्याल निर्वाचित भएका छन्।
बिहीबार बेलुका स्थानीय ‘बाजेको सेकुवा हिमालयन ग्रिल’ मा भएको कार्यक्रममा निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ-ग्रहण गरेका छन्। संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त वासुदेव भण्डारीले निर्वाचित कार्यसमितिलाई शपथ-ग्रहण गराउँदै अमेरिकाको नेपाली समुदायमा नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले आफ्नो बेग्लै स्थान बनाउन सफल भएकोमा बधाई दिँदै आगामी कार्यकालका लागी शुभकामना दिएका थिए।
च्याम्बरका वर्तमान अध्यक्ष मनोज सिग्देलले आफ्नो कार्यकालमा गरिएका केही महत्त्वपूर्ण क्रियाकलापको समीक्षा गर्दै आगामी दुई वर्षमा च्याम्बरले नयाँ उचाइ लिनेमा विश्वास व्यक्त गरे।
शपथ-ग्रहण पश्चात् कार्यक्रमका सम्पूर्ण सहभागीहरू, वर्तमान कार्यसमितिका पदाधिकारीहरू र निर्वाचन समितिका सदस्यहरूलाई कृतज्ञता ज्ञापन गर्दै नव-निर्वाचित अध्यक्ष बाल जोशीले नेपाली-अमेरिकन समुदायमा, विशेष गरी ड्यालस-फोर्टवोर्थ समुदायमा, नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सको औचित्य स्थापित गर्दै नेपाली-अमेरिकन व्यवसायीहरूको बृहत्तर विकासमा गर्न आफ्नो भूमिका रहने बताए।
निर्वाचन समितिका सदस्य महेन्द्र पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा निर्वाचन समितिकै अर्की सदस्य डाक्टर सङ्गीता तिवारीले स्वागत गरेकी थिइन्।
अमेरिकाको टेक्सस राज्य स्थित ड्यालस-फोर्टवोर्थ मेट्रोप्लेक्समा रहेका नेपाली व्यवसायीहरूलाई सङ्गठित गर्ने उद्देश्यले २०१५ मा नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सको स्थापना भएको थियो।