ड्यालसमा जम्यो दुर्गेश थापाको धमाका शो, अमेरिकी टुर भव्य रूपमा सकियो
गायक दुर्गेश थापाले अमेरिकाको अन्तिम गन्तव्य ड्यालसमा धमाका प्रस्तुति दिँदै आफ्नो अमेरिकी संगीत यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। डेढ महिनादेखि निरन्तर विभिन्न राज्य र सहरमा प्रस्तुति दिँदै आएका थापाको ड्यालस शो विशेष ऊर्जा र उत्साहले भरिएको थियो।

अस्टिनबाट सुरु भएको अमेरिकी टुरका क्रममा थापाले न्युयोर्क, बाल्टिमोर, कोलम्बस, भर्जिनिया, कोलोराडो लगायत ११ सहरमा साङ्गीतिक प्रस्तुति दिएका थिए। सहर–सहरमा रहेका नेपाली समुदायको ठूलो उपस्थिति र माया देखेर उनी अत्यन्त उत्साहित भएको बताएका छन्।
ड्यालसमा सम्पन्न अन्तिम कन्सर्ट साझा इभेन्ट, बिजुली इन्टरटेन्मेन्ट र फेम नेपालले आयोजना गरेको थियो। कार्यक्रममा गायक थापासँगै नेपाली संगीत क्षेत्रका चर्चित गायक राजेश पायल रायले पनि उपस्थित भएर कार्यक्रम तताएका थिए। दर्शकहरूले दुर्गेश थापाका लोकप्रिय गीतहरूमा ठूलो जोश र उत्साह देखाएका थिए भने राजेश पायल रायले प्रस्तुति दिँदै माहोल झन् गर्माए। आयोजकहरूका अनुसार शोमा उपस्थितिको संख्या अपेक्षाभन्दा बढी रह्यो र कार्यक्रम अत्यन्त सफल भएको छ।

अहिलेका वर्षहरूमा दुर्गेश थापाको अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा माग बढिरहेको छ। गत पुसमा सार्वजनिक भएको हिट गीत ‘दुश्मन हेरेको हेर्यै…’ ले युट्युबमा १३ करोडभन्दा बढी भ्युज पाइसकेको छ र उनको लोकप्रियतालाई अझ सुदृढ बनाएको छ।
ड्यालसमा सम्पन्न अन्तिम प्रस्तुति सँगै दुर्गेश थापाको पहिलो अमेरिकी संगीत यात्रा भव्य रूपमा टुङ्गिएको छ। आगामी दिनमा उनी फेरि अमेरिकी नेपाली समुदायसँग भेटघाट गर्ने योजनामा छन्।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...




















