अमेरिकामा ३.७ अर्ब डलरको मेडिकेयर ठगीको कथित योजनाकार एफबीआईको फन्दामा
अमेरिकी संघीय अनुसन्धान ब्युरो (FBI) ले मेडिकेयर कार्यक्रममा करिब ३.७ अर्ब डलरको ठगी योजनामा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरी अमेरिका फिर्ता ल्याएको जनाएको छ।
एफबीआईका अनुसार इब्राहिम खालदुन हिल्मी (Ibrahim Khaldoon Hilmi) नामका ती व्यक्ति सन् २०२५ मे महिनामा अमेरिका छाडेर फरार भएका थिए। उनलाई हालै टर्कीका अधिकारीहरूले पक्राउ गरेका थिए। त्यसपछि एफबीआईको Critical Incident Response Group ले टर्की पुगेर उनलाई हिरासत हस्तान्तरण प्रक्रियामार्फत गत शुक्रबार अमेरिका ल्याएको हो।
एफबीआईका निर्देशक Kash Patel ले हिल्मीको पक्राउलाई करदाताको पैसाबाट सञ्चालन हुने स्वास्थ्य कार्यक्रमहरूमा हुने ठूलो स्तरको ठगीविरुद्धको अभियानमा महत्वपूर्ण सफलता बताएका छन्। उनले एफबीआई मियामी कार्यालय, अमेरिकी न्याय विभाग (DOJ) तथा टर्कीका अधिकारीहरूको सहयोगको प्रशंसा गरेका छन्।
हिल्मीमाथि अमेरिकी सरकारको इतिहासकै सबैभन्दा ठूलोमध्ये एक मानिएको ३.७ अर्ब डलरको मेडिकेयर ठगी योजनामा संलग्न रहेको आरोप छ।
यसैबीच, केही दिनअघि मात्रै एफबीआईले फिलिपिन्सबाट हर्बर्ट किम्बल (Herbert Kimble) लाई पनि अमेरिका ल्याएको थियो। उनीमाथि वृद्धवृद्धालाई लक्षित गर्दै १.३ अर्ब डलरको छुट्टै मेडिकेयर ठगी गरेको आरोप छ।
यी दुई मुद्दालाई जोड्दा करिब ५ अर्ब डलर बराबरको कथित आर्थिक क्षति भएको अमेरिकी अधिकारीहरूको दाबी छ। एफबीआई निर्देशक पटेलले यस्ता ठगीमा संलग्न फरार व्यक्तिहरूलाई “जहाँ लुके पनि खोजी गरेर कानुनी दायरामा ल्याइने” चेतावनी दिएका छन्।
मेडिकेयर अमेरिकाको संघीय स्वास्थ्य बीमा कार्यक्रम हो, जसले मुख्य रूपमा ६५ वर्षभन्दा माथिका नागरिक तथा निश्चित स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछ। यस्तो कार्यक्रममा हुने ठगीले करदाताको अर्बौं डलर नोक्सान पुर्याउने भएकाले अमेरिकी सरकारले पछिल्ला वर्षहरूमा कडा कारबाही गर्दै आएको छ।




















