अमेरिकामा हुर्किरहेका नेपाली बालबालिकाका लागि ऐतिहासिक अवसर: NST र NCSC को संयुक्त समर क्याम्पमा करिब ४०० विद्यार्थी सहभागी हुने
टेक्सास – अमेरिकामा जन्मिएका तथा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, संस्कृति, आध्यात्मिकता र जीवनोपयोगी सीपसँग जोड्ने उद्देश्यले नेपाली समाज टेक्सास (NST) र NCSC को संयुक्त आयोजनामा सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्प २०२६ सञ्चालन हुने भएको छ।
यस वर्षको क्याम्प दुई चरणमा आयोजना गरिनेछ। ५ देखि ९ वर्ष उमेर समूहका बालबालिकाका लागि जुलाई २० देखि २६, २०२६ सम्म जुनियर क्याम्प तथा १० वर्ष वा सोभन्दा माथिका सहभागीहरूका लागि जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म सिनियर क्याम्प सञ्चालन हुनेछ।
आयोजकका अनुसार, प्रत्येक समूहमा करिब २०० जना विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ। करिब ४०० बालबालिकाको सहभागिता रहने यस कार्यक्रमलाई नेपाली समुदायकै सबैभन्दा ठूलो बाल तथा युवा समर क्याम्पमध्ये एक मानिएको छ।
जुनियर क्याम्पमा नेपाली कला तथा चित्रकला, नृत्य, सांस्कृतिक प्रस्तुति, मित्रता खेल, रिस्टब्यान्ड निर्माण, फायर तथा पुलिस विभाग भ्रमण, CPR (प्राथमिक उपचार) तालिम, बालबालिकाका लागि गीता अध्ययन, नेपाली परम्परागत खेल, क्रोध व्यवस्थापन तथा वित्तीय साक्षरता लगायतका गतिविधि सञ्चालन गरिनेछन्।
त्यस्तै, सिनियर क्याम्पमा कार्पेन्ट्री (काठको काम तथा सिर्जनात्मक निर्माण), फायर तथा पुलिस विभाग भ्रमण, CPR तालिम, लागूऔषध दुर्व्यसन तथा मानसिक स्वास्थ्य सचेतना, घरेलु हिंसा सम्बन्धी जनचेतना, गीता अध्ययन, नेपाली परम्परागत खेल, क्रोध व्यवस्थापन तथा वित्तीय साक्षरता जस्ता व्यवहारिक तथा नेतृत्व विकासमुखी कार्यक्रम समावेश गरिएको छ।
यसका साथै योग, ध्यान, प्रेरणादायी तथा आध्यात्मिक सत्र, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, कला, संस्कृति तथा मित्रता निर्माणका विविध कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्। सहभागी सबै बालबालिकालाई ब्रेकफास्ट, लन्च तथा क्याम्प टी–शर्ट उपलब्ध गराइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार, समर क्याम्पको मुख्य उद्देश्य अमेरिकामा हुर्किरहेका नेपाली मूलका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, संस्कृति र मूल्यहरूसँग जोड्दै उनीहरूलाई आत्मविश्वासी, जिम्मेवार र सक्षम विश्व नागरिकका रूपमा विकास गर्नु हो। ठूलो सहभागितासहित सञ्चालन हुन लागेको यस कार्यक्रमले नेपाली समुदायमा एकता, संस्कार र सकारात्मक नेतृत्वको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
नाम दर्ता (Enrollment): https://ournst.org/cultural-spiritual-summer-camp-2026/



















