छोराले गरे दिवंगत पिताको सम्झनामा रक्तदान कार्यक्रम आयोजना
युलेस, टेक्सास-मानव सेवा नै महान् सेवा हो, रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने पवित्र भावनाका साथ टेक्सासको युलेस सहरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्व. चूडामणि गौतमको स्मृतिमा उनका सुपुत्र गेाविन्द गैातम तथा परिवारद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायको उल्लेख्य सहभागिता रह्यो।
रक्तदान कार्यक्रम नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) र ब्लड डोनर्स अफ अमेरिका (BDA) को संयुक्त सहयोग तथा समन्वयमा सञ्चालन गरिएको थियो। आज जुलाई १२, २०२६ (आइतबार) का दिन बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म युलेसस्थित नेपाली सांस्कृतिक केन्द्र (1212 Royal Pkwy, Euless, TX 76040) को प्राङ्गणमा रक्तदान सङ्कलन गरिएको हो।
आफ्ना दिवंगत पिताको स्मृतिलाई समाजसेवाको कार्यसँग जोड्दै आयोजना गरिएको यस कार्यक्रममा “तपाईंको एक दानले ३ जनासम्मको जीवन बचाउन सक्छ” भन्ने मूल मर्मलाई आत्मसात् गरिएको थियो। कार्यक्रममा डि.एफ.डब्लु (DFW) वरपरका नेपाली समुदायका सदस्यहरू, स्वयंसेवकहरू तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले उपस्थित भई रक्तदान गरेका थिए।
पिताको सम्झनामा गरिएको यस उदाहरणीय र मानवीय कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई आयोजक परिवार तथा समितिका तर्फबाट हार्दिक धन्यवाद एवं आभार प्रकट गरिएको छ।
सम्बन्धित खवर
-
अमेरिका । नेपाली हास्य कलाकार ...
-
अमेरिकाको टेक्सासस्थित ...





















