नेपाली समाज टेक्सास (NST) समर क्याम्प २०२६ उत्साहका साथ जारी
युलेस, टेक्सास -नेपाली समाज टेक्सास (NST) द्वारा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को सहकार्यमा आयोजना गरिएको NST समर क्याम्प २०२६ युलेस, टेक्सासमा उत्साह, उमङ्ग र नेपाली सांस्कृतिक वातावरणका साथ जारी रहेको छ। नेपाली मूलका बालबालिका, अभिभावक, स्वयंसेवक तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितासहित सञ्चालन भइरहेको यस क्याम्पले बालबालिकालाई नेपाली भाषा, संस्कृति, परम्परा र नैतिक मूल्यसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ।

क्याम्पका विभिन्न गतिविधिहरूमार्फत बालबालिकाले नेपाली भाषा, कला, संगीत, संस्कृति, योग, खेलकुद, नेतृत्व विकास तथा सामुदायिक चेतनासम्बन्धी ज्ञान र अनुभव हासिल गरिरहेका छन्। विदेशमा हुर्किरहेका नेपाली मूलका नयाँ पुस्तालाई आफ्नो पहिचान, संस्कार र मौलिक परम्परासँग जोड्दै आत्मविश्वास, अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गराउनु यस समर क्याम्पको मुख्य उद्देश्य रहेको छ।
नेपाली समाज टेक्सास (NST) का अध्यक्ष विजय भुषालले समर क्याम्पले विदेशमा हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्ने महत्वपूर्ण माध्यमको काम गरिरहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले नयाँ पुस्तामा नेपाली संस्कार, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

क्याम्पका क्रममा आध्यात्मिक व्यक्तित्व गुरु सन्त पौडेलले बालबालिकालाई नैतिक मूल्य, अनुशासन र सकारात्मक जीवनशैलीका विषयमा प्रेरणादायी मार्गदर्शन प्रदान गर्नुभएको छ। त्यसैगरी डा. चिन्तामणि योगीले भर्चुअल माध्यमबाट शुभकामना सन्देश दिँदै नेपाली भाषा, संस्कृति र पहिचानलाई भावी पुस्तासम्म जीवन्त राख्नु आजको आवश्यकता रहेको बताउनुभएको छ।
NST समर क्याम्प २०२६ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बालबालिकाको समग्र व्यक्तित्व विकासमा केन्द्रित एक शैक्षिक तथा सांस्कृतिक अभियानका रूपमा अघि बढिरहेको छ। यसले बालबालिकामा ज्ञान, संस्कार, मित्रता, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकास गर्दै बहुसांस्कृतिक समाजमा जिम्मेवार र सक्षम नागरिक बन्न सहयोग पुर्याउने विश्वास नेपाली समाज टेक्सासले लिएको छ।

सम्बन्धित खवर
-
डलास, टेक्सस – नेपाली समाज ...
-
युलेस, टेक्सास-मानव सेवा नै ...



















