ड्यालस, टेक्सस — प्रवासमा हुर्किँदै गरेको नयाँ पुस्तालाई आफ्नो माटो, ममता र मौलिक भाषासँग कसरी जोडिराख्ने? सात समुद्रपार रहेका नेपाली अभिभावकका लागि यो सधैँ एउटा पेचिलो प्रश्न बनिरहन्छ। यही प्रश्नको व्यावहारिक समाधान पहिल्याउन र डायस्पोरामा सञ्चालित नेपाली पाठशालाहरूलाई एउटै सूत्रमा बाँध्न आगामी अगस्ट १ र २ मा टेक्ससमा एक विशेष मन्थन हुँदैछ।

‘नेपाली समाज टेक्सस’ (NST) र ‘NST ग्लोबल पाठशाला’को संयुक्त आयोजनामा Euless स्थित हल (1212 Royal Pkwy, Euless, TX 76040) मा आयोजना हुन लागेको ‘पहिलो अन्तर्राष्ट्रिय गोष्ठी’ केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन, प्रवासमा नेपाली भाषा र संस्कृतिको जग बलियो बनाउने एउटा ऐतिहासिक प्रयास हो।
संसारका विभिन्न कुनामा नेपाली समुदायले आफ्नै सक्रियतामा पाठशालाहरू त सञ्चालन गरिरहेका छन्, तर सर्वस्वीकार्य र व्यवस्थित पाठ्यक्रमको अभाव सधैँ खड्किँदै आएको छ। यही रिक्तता पुरा गर्न ‘Alliance for Nepali Organizations in USA’ को संयोजन तथा NCSC र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) ड्यालसको सहकार्यमा यो दुई दिने विचार-गोष्ठी तय गरिएको हो।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने यस गोष्ठीमा भाषाविद्, शिक्षाविद्, शिक्षक, अभिभावक र संघ-संस्थाका प्रतिनिधिहरू एउटै थलोमा भेला भएर प्रवास सुहाउँदो ‘एकीकृत पाठ्यक्रम’को खाका कोर्नेछन्।
आयोजकका तर्फबाट संयोजक डा. भोजबहादुर बलायर भन्नुहुन्छ, “हाम्रा बालबालिकालाई नेपाली अक्षर चिन्न सजिलो होस् र जहाँ रहे पनि एउटै स्तरको गुणस्तरीय शिक्षा पाओन् भन्ने हाम्रो मूल ध्येय हो।”
प्रवासको व्यस्त जीवनशैलीका बाबजुद आफ्ना सन्ततिका लागि नेपालीपनको विरासत जोगाउन चाहने सम्पूर्ण भाषाप्रेमी, अभिभावक र संघ-संस्थाका प्रतिनिधिहरूलाई यस महाअभियानमा सहभागी हुन आयोजकले हार्दिक आह्वान गरेको छ।
सम्बन्धित खवर
-
अमेरिकामा भिसाको अवधि सकिएपछि ...
-
अमेरिकामा बसोबास गर्दै साहित्य, ...




















