गत साता आएको विनाशकारी बाढीले त्रिशूली बजारमा चारवटा घर बगाएपछि, एउटा कालो–सेतो कुकुर भने ती घरहरू रहेको स्थान छाड्न मानेको छैन।
घाँटीमा रहेको कलर अझै जस्ताको तस्तै छ। वरिपरि आधा दर्जनभन्दा बढी JCB र उद्धारकर्मीले काठ, हिलो, बालुवा तथा भग्नावशेष हटाइरहँदा पनि कुकुर त्यही हिलो भएको ठाउँमा बसिरहन्छ। अपरिचित मानिस देख्दा पनि खासै प्रतिक्रिया दिँदैन, पुच्छर हल्लाउँदैन र पटक–पटक आफू बस्ने घरको पुरानो प्रवेशद्वार भएको ठाउँमै फर्किन्छ।
स्वयंसेवी राहतकर्मी बिक्रम थापाका अनुसार, उद्धारकर्मीहरूले सुरुमा बिस्कुट दिएर र विभिन्न नामले बोलाएर उसलाई त्यहाँबाट हटाउने प्रयास गरेका थिए। तर कुकुरले उनीहरूतिर फर्केर समेत हेरेन।
“हामीले बिस्कुट दिएर र विभिन्न नामले बोलाएर फकाउने प्रयास गर्यौँ, तर उसले टाउकोसमेत फर्काउँदैन। उसको कलर अझै जस्ताको तस्तै छ। ऊ यो ठाउँ छाड्नै मान्दैन।”




















