अमेरिकाको न्याय मन्त्रालयले बलात्कार र अपहरणको अपराध लुकाएर अमेरिकी नागरिकता प्राप्त गरेका भारतका गुरमीत सिंहको नागरिकता खारेज गराएको छ।

न्युयोर्कको पूर्वी जिल्लास्थित संघीय अदालतले अगस्ट २६, २०२६ मा सिंहको अमेरिकी नागरिकता रद्द गर्ने आदेश दिएको हो।

भारतमा जन्मिएका सिंह फेब्रुअरी १९९२ मा पर्यटकका रूपमा अमेरिका आएका थिए। केही वर्ष गैरकानुनी रूपमा बसेपछि परिवारमा आधारित आप्रवासी भिसामार्फत जुन २००० मा स्थायी बासिन्दा (ग्रिन कार्डधारी) बनेका थिए।

तर, अमेरिकी नागरिकताको आवेदन दिनुभन्दा केही साताअघि मे २०११ मा उनले ट्याक्सीमा घर फर्किरहेकी एक महिला यात्रुलाई सुनसान स्थानमा लगेर चक्कु देखाउँदै नियन्त्रणमा लिई बाँधेको, मुख र आँखामा पट्टी लगाएको तथा बलात्कार गरेको अभियोगमा पछि दोषी ठहरिएका थिए।

सिंहले नागरिकता आवेदन र प्रक्रियाका क्रममा उक्त अपराध लुकाएका थिए। त्यसपछि अक्टोबर १९, २०११ मा अमेरिकी नागरिकता प्राप्त गरेका थिए।

नागरिकता पाएपछि उनी न्यूयोर्कमा पहिलो तहको बलात्कार र दोस्रो तहको अपहरण अपराधमा दोषी ठहरिए र २० वर्ष जेल सजाय पाए।

अमेरिकी न्याय मन्त्रालयले सिंहले गम्भीर अपराध लुकाएर नागरिकता प्राप्त गरेको भन्दै संघीय अदालतमा मुद्दा दायर गरेको थियो। अदालतको पछिल्लो आदेशपछि उनले गलत तरिकाले प्राप्त गरेको अमेरिकी नागरिकता सरकारलाई बुझाउनुपर्ने भएको छ।

अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले भनेका छन्, “अमेरिकी नागरिकता अपराधीहरूका लागि सुरक्षा कवच होइन।” मन्त्रालयले कानुन र प्रमाणले अनुमति दिएका अवस्थामा गलत वा धोखाधडीबाट प्राप्त नागरिकता खारेज गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected