नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले गणतन्त्र र लोकतन्त्रको रक्षा नेकपाबाहेक कसैले गर्न नसक्ने ठोकुवा गरेका छन् । कास्की २ को उपनिर्वाचनमा नेकपाबाट उम्मेदवार बनेकी विद्या भट्टराई अधिकारीको चुनाव प्रचारप्रसारकमा सोमबार आयोजित सभामा उनले गणतन्त्र र लोकतन्त्र रक्षाका लागि पनि नेकपा उम्मेदवारले जित्नुपर्ने बताए । उनले भने, ‘गणतन्त्र र लोकतन्त्रको सच्चा पहरेदार कांग्रेस होइन, कांग्रेसले यसको रक्षा गर्नै सक्दैन ।’

उनले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको बताए । ‘सीमा सुरक्षामा सरकार गम्भीर छ,’ उनले भने, ‘भारतले अतिक्रमण गरेको कालापानी, लिम्पीयाधुरा र लिपुलेक फिर्ता ल्याउन सरकारले प्रक्रिया सुरु गरिसक्यो ।’ गुरुङले सरकारले आर्थिक समृद्धिका आधारहरु तयार गरिसकेको दाबी गरे । आर्थिक परिसूचकहरुमा सकारात्मक सुधार देखिएकाले समृद्धिको संकल्प पूरा हुने उनको भनाइ छ ।
उम्मेद्वार भट्टराईले आफू कास्कीकी छोरी, बुहारी, भाउजु, आमा र भाञ्जी भएर आएको बताइन् । उनले पती रवीन्द्रले कोरेको विकास र समृद्धिको खाका अनुसारै काम गरेर पोखरालाई विकास र समृद्धिको उच्चतम विन्दुमा पु¥याउने बाचा गरिन् ।
नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले आगामी आम निर्वाचनअघि वृद्धभत्ता ५ हजार नपु¥याई फेरि भोट माग्न नआउने बाचा गरे । उनले आगामी चुनावसम्म सुकुम्बासीलाई लालपुर्जासमेत बाँडिसक्ने प्रतिज्ञा गरे । ‘सुकुम्बासीलाई हामी भोट बैंक बनाई राख्दैनौं,’ उनले भने, ‘अबको चुनावअघि सबै सुकुम्बासीलाई लालपुर्जा दिन्छौं ।’ अधिकारीले शेरबहादुर देउवाले देशद्रोही कुरा बोलेकाले कांग्रेसले देउवाको अभिव्यक्तिको स्वामित्व ग्रहण नगरेको टिप्पणी गरे ।
नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ करणले कोशी, गण्डकी र टनकपुर बेच्नेहरुलाई राष्ट्रियता नसिकाउन चेतावनी दिए । कांग्रेसको गलत नीतिका कारण देशको अर्थतन्त्र बिग्रिएको र परनिर्भरता बढेको आरोप उनले लगाए ।

सोमाबार बिहान लामाचौर बाटुलेचौर क्षेत्रमा भोट माग्न घरदैलोमा पुगेकी भट्टराईलाई स्थानीयले फुल, माला र अवीरले स्वागत गरेका थिए । घरदौलोमा उनले पोखराको सौन्दर्यकरण गर्दै प्रतिवर्ष २० लाख पर्यटन भित्र्याउने योजना सुनाइन् । गन्धर्व संग्रहालय, ढिकीडाँडामा प्याराग्लाइडिङ, अर्मला बिसौनी पार्क, अर्मलाकोट, चोकडाँडा आदि क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकास र योजना निर्माण भइरहेको उल्लेख गर्दै उनले पोखरालाई विश्वकै सुन्दर र सभ्य सहर बनाउने वाचा गरिन् ।

निर्वाचन परिचालन कमिटीहरुले उपचुनाव हुने पोखराका ११ वटै वडामा अभियान जारी राखेका छन् । पोखरा ४ मा कमिटीले फिर्के क्षेत्रको सुकुम्बासी बास्तीमा घरदैलो गरी मतदातालाई मतदान गर्ने तरिका सिकाएको निर्वाचन कमान्डर दामोदर बैरागीले जानकारी दिए । पोखरा ३३ एकैपटक ३४ समूहले घरदैलो गरी मतदानका निम्ति आग्रह जनतालाई आग्रह गरेको वडाका प्रचारप्रसार संयोजक टुकराज भण्डारीले बताए ।

पोखरा ७ मा सोमबार बैठक बुथ कमिटीको बैठक बसी मतदाताको एकीन गर्ने, मत पहिचान गर्ने गरिएको छ । वडाका टोल विकास संस्थाका पदाधिकारीसँग बसेर चुनावी रणनीति तयारी गरिएको नेकपा वडाध्यक्ष पुरुषोत्तम रेग्मीले बताए । पोखरा १५ मा नेकपाले घरदैलो, कोणसभा र उम्मेदवारका प्रतिवद्धता जानकारी गराएको चुनावी कमान्डर बखानसिंह तमुले उल्लेख गरे । नेकपा पोखरा ९ ले टोल विकास संस्थाहरुसँग भेटघाट र उम्मेदवारसहित पहारी टोल र शान्तिदर्शन टोलमा घरदैलो गरेको छ ।

पोखरा २० का आँटीघर, मौजा लगाएका क्षेत्रमा चुनावी कमान्डर विश्वप्रकाश लामिछानेसहित गंगाबहादुर केसी, सुशील बस्नेत, पवित्रा गुरु, लक्ष्मी कार्की, मनभुजा विक, नरबहादुर विकको टोलीले घरदैलो गरेको छ । मंगलबार उम्मेदवारसहित मैजा, आँटीघर लगायतका क्षेत्रमा घरदैलो हुने चुनावी कमान्डर लामिछानेले जानकारी दिए ।
पोखरा २१ मा सोमबार उपकमिटीको बैठक, निर्मलपोखरी क्षेत्रमा घरदैलो भएको छ । पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम बिस्फोट भएको बिरोधमा कृस्तिमा आमसभा आयोजना गरिएको नेकपा २१ अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।
‘अर्काे पटक लालपुर्जा लिएर आउँछौं’
नेकपाले सोमाबार पोखरा १७ का बाराही टोल, पुल्चोक, दोबिल्ला, लामातारा, समृद्धि टोल, महतगौडा, हनुमानटोल लगायतका क्षेत्रमा घरदैलो गरेको छ । पार्टीका एजेन्डा बुझाउन र नेकपालाई मत माग्न १८ टोल कमिटी र २० जनवर्गीय संगठन परिचालन गरिएको निर्वाचन परिचालन कमिटी संयोजक सुवास ढुंगानाले जानकारी दिए । सोमबार भएको कोणसभामा सुकुम्बासी परिचालन सहसंयोजक ओमबहादुर पौडेलले अर्काे चुनावमा मत माग्न आउदा लालपुर्जा लिएर आएको आश्वासन दिए । बुधबार पनि घरदैलो गरी हिमालीचोकमा कोणसभा गरिने उनले ढुंगानाले जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected