___________रन्जु मार्ग 

एक प्रतिष्ठित विश्वविद्यालयको पुस्तकालयमा म  एकाग्र    पुस्तक पढिरहेको  थिएँ।  वातावरण  एकदम शान्त थियो ,सियो खसे पनि आवाज आउने ।मानिसहरु बडो एकाग्रपूर्ण  अध्ययनमा   लीन  थिए । एक्कासि.  कहीं कतैबाट आवाज आयो ।आवाज रोए जस्तो सुक्कसुक्क थियो ।मैले यताउता हेरें ।आवाज मेरै अगाडि बसेका एक भद्र अधबैसें पुरुषबाट आएको रहेछ ।म एक छिन अलमलमा परें ,के पो गर्ने होला भनेर ।उनी  झनै रुन थाले ।यो पल्ट मैले आफुलाई रोक्न सकिन र सोध्ने आँट गरेँ।

‘के भयो तपाईलाई?किन यसरी रुनु भएको ?

उनी  केही बोलेनन  ।टाउको निहुराएर  पढी नै रहे  ।उनी  बेला बेलामा भने शान्त हुन्थे ।शान्त भएको बेलामा म पनि आफ्नो अध्ययनमा लाग्थे ।

केहीछिन शान्त भएपनि फेरी उनी सुक्कसुक्क रुन थाले   

‘तपाई फेरी रुन थाल्नु भयो ,केही समस्या पो परयो कि ?’

‘केही समस्या परेको छैन ,’उनी यता उता हेर्दै लाज माने जस्तो गरि रुमाल झिकेर आँसु पुछ्न थाले 

‘तपाइलाई पक्कै पनि केही समस्या परेको हुनु पर्छ ,नत्र त   यस्तो सार्वजनिक ठाउँमा ?’म उनको नजिक गएर बसेँ 

  नजिक हुन खोजेँ I  तर उनी भने  एक्लै आफ्नु पिडा आँखाबाट बगाईरहेथे  ।उनी  आँखाबाट जबर्जस्ती आँसु रोक्न चाहन्थे तर सकी राखेको थिएनन ।

निकै बेरसम्म म उनको नजिक बसिरहेको देखेर उनले म तिर पुलुक्क हेरे ।उनका आँखा राता भैसकेका थिए ।

‘हेर न यो किताब कसले लेखेको होला ?’उनले किताब म तिर देखाउंदै भने ।

‘यो किताबको पात्रलाई घटेको घटना र मेरो जीवनमा घटेको घटना एउटै रहेछ ।’उनले  लामो सुस्केरा छोड्दै भने ।

‘मान्छेको जिन्दगीमा सन्तानको  माया भन्दा ठुलो  अरु के नै हुन्छ र ?तर त्यहि सन्तानसगँ बिछोडिनु पर्दा …  खै ,कसरी ब्यक्त गरूँ? उनी भन्दै थिए ।

‘आज छोरी हराएको पनि पन्ध्र बर्ष भै सक्यो ,हराउँदा ऊ पाँच बर्षकी थिई  । अब त बीस बर्षकी भै’ सकी होली।’

‘मैले आफ्नो पिडा भुल्न नसकेर २,३ वटा किताबपनि लेखें तर  ….!’ उनी टेबलमा घोप्टो परेर रुन थाले ।

मैले उनले पढ्दै गरेको किताब  हेरें  ।हेर्दैजादा किताबको पछडिपट्टि लेखकको नाम सहित  छोरीको तस्बिर पनि  देखें ।

म झस्किएँ ।

बिस्तारै उनको शिर टेबलबाट उठाएँ र हेरें ।किताबमा भएको तस्बिर उनकै थियो ।अनि उनी संगैरहेको अर्को तस्बिर मेरो थियो ।

                  ######

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected