गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ क्रिकेट प्रतियोगितामा नवलपुर च्याम्पियन

पाेखरा-नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शिर्षस्थान कायम गर्दै च्याम्पियन भएको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागि ५ टिमविचको सुुपर लिगमा नवलपुरले अपराजित रहँदै ८ अंक जोड्यो । दोश्रो स्थानमा रहेको कास्कीको ६ अंक थियो ।
अन्तिम तथा निर्णायक खेलमा टस जितेर व्याटिङ्ग रोजेको नवलपुरले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो । जितका लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको कास्की ३५ ओभरमा १ सय ८ रनमा समेटियो । फाइनल खेलमा ह्याट्रिक गर्न सफल नवलपुरका बलर सुसिल क्षेत्रि म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगितामा बाग्लुङका सुवास भण्डारी सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगिताभर ११ विकेट लिएका नवलपुरका स्विकार श्रेष्ठ उत्कृष्ट बलर तथा प्रतियोगिताको एकमात्र शतक प्रहार गरेका नवलपुरकै दिपक डुम्रे उत्कृष्ट व्याट्स्म्यान भए ।
जित संगै नवलपुरले नगद २० हजार सहित ट्रफि पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी फरेन लिङ्क कन्सल्ट्यान्सीका प्रमुख क्षितिज तुलाचन, आयोजक एकेडेमीका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ, प्रतियोगिता संयोजक चन्द्रकुमार गुरुङ्ग (जिम्मी), प्रशिक्षक रिजन प्रजु लगायतले विजयी खेलाडीहरुलाई ट्रफि मेडल, प्रमाणपत्र वितरण गरेका थिए । सर्वोत्कृष्ट खेलाडी भण्डारीलाई प्याराग्लाइडिङ्ग पाइलट सविता तामाङ्गले प्याराग्लाइडिङ्ग टिकट उपहार प्रदान गरिन् ।
आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई आगामी वर्षहरुमा निरन्तरता दिइने प्रतिवद्धता जाहेर गरे । एकेडेमीका सचिव विजय भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।