स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सुरक्षाको प्रवन्ध मिलाउन कर्मचारी युनियनको आग्रह
पोखरा-नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सुरक्षाको उचित प्रवन्ध गर्न आग्रह गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष चन्द्र थापाले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोविड १९) को जोखिमको अग्रपङ्तीमा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु रहने भन्दै उनीहरुको भरपर्दो सुरक्षाको ब्यवस्था गर्न नेपाल सरकार र स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेका हुन ।
उनले जारी गरेको विज्ञप्तीमा “बिश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोबिड– १९)को उच्च जोखिममा अब दक्षिण एसियाली मुलुकहरु रहेको तथ्य बिश्व स्वास्थ्य संगठनले सार्वजनिक गरिरहेको र सार्क राष्ट्रका प्रमुख तथा बिशिष्ट ब्यक्तिहरुले यसतर्फ सचेतना प्रस्तुत गरेको भिडियो कन्फरेन्सले समेत देखाईसकेको अबस्थामा नेपाल समेत यसको उच्च जोखिमबाट नजिक रहेको कुरा नकार्न सकिदैन । यो दुर्तगतिमा सजिलै फैलने घातक भाइरस भएकोले पनि अनिवार्य रुपमा सबै सुरक्षात्मक उपकरण अबलम्बन गर्दै उच्च सतर्कता अबनाउन ढिला गर्न नहुने परिस्थिती निर्माण भइसकेको छ ।” भनिएको छ ।
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सुरक्षामा भरपर्दो ब्यवस्था हुन नसकिरहेको बर्तमान परिस्थितीले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु भययुक्त बातावरणमा काम गर्नु परिरहेको अवस्थाका कारण पनि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको जीवन रक्षाका लागी सुरक्षात्मक उपाय अपनाउन आवश्यक रहेको जारी विज्ञप्तीमा जनाइएको छ । उनले जारी गरेको विज्ञप्तीमा निजी स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षा अवस्था अझै दयनीय रहेको भन्दै सुरक्षा ब्यवस्थाको तत्कालै भरपर्दो ब्यवस्था गर्न माग पनि गरिएको छ ।
थापाले यो महामारीलाई नियन्त्रण गर्न सक्षम प्रतिबद्ध र बिश्वासिला स्वास्थ्यकर्मी तथा कर्मचारी भएता पनि सुरक्षा उपकरण बिना तथा सुरक्षाका तालिम बिना काम गर्न बाध्य पारिएको परिणाम कहाली लाग्दो बन्दै गएको भन्दै यस्तै अबस्था रहिरहने हो भने स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आफ्नो सुरक्षाको लागि काम नै छाड्नु पर्ने अबस्थामा पुग्न सक्ने चेतावनी समेत दिएका छन ।
सबै नेपाली नागरिकलाई भयरहित रुपमा सुरक्षित रहन तथा संक्रमण हुन सक्ने स्थलमा अत्यावश्यक अवस्थामा बाहेक नजान पनि अनुरोध गर्दै बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले आग्रह गरेका सुरक्षाका उपाय अपनाउन पनि उनले आग्रह गरेका छन ।