अमेरिका छिर्न ज्यानै धरापमा
अमेरिकाको सपना नदेख्ने कमै हुन्छन् । घुमघाम होस या यतै आएर बसोबास गर्ने चाहना राख्ने नेपालीहरु प्रशस्तै छन् । डलर कमाउने सपनाले धेरैलाई यो मुलुकले लोभ्याउदै आएको छ । वर्षेनी वैध रुपमा होस् या अवैध रुपमा नेपालीहरु अमेरिका प्रवेश गर्ने क्रम बढ्दो छ । दलाललाई लाखौ बुझाएर ज्यानै जोखिममा राखेर अबैध रुपमा प्रवेश गर्ने नेपालीहरु त्यतिकै छन् । नजानेर मात्र हैन बुझेर समेत गैरकानुनी रुपमा अमेरिका आउने चाहना राख्ने नेपाली दिनानुदिन बढीरहेका छन् । त्यही चाहना राख्ने मध्येका थिए खगेश्वर केसी । रोल्पाको विकट गाउँमा जन्मे पनि उनी काठमान्डौमा नै बसेर उच्च शिक्षा हासिल गदै प्राइभेट कलेजमा पढाउदै थिए । पढाउने पेशाबाट उनी खासै सन्तुष्टि थिएनन् ।
तीन छोराछोरीका बाबु समेत रहेका उनलाई कमाईले काठमान्डौमा डेरा भाडा र बच्चाबच्चीलाई पढाउने लगायतले आर्थिक भार थेगिनसक्नु थिएन । कहिलेकाही त उनलाई यो सब छाडेर विदेशतिर हुइकिउ कि जस्तो पनि लाग्दै थियो । आखिर उनले जे सोचे त्यही भयो । उनलाई अनायासै अमेरिका जाने अफर आयो । सुरुमा त उनले पत्ताउनै सकेनन् । सहजै अमेरिकाको भिसा पाइदैन भन्ने पनि उनलाई थाहा थियो ।
गैरकानुनी बाटोबाट उनलाई अमेरिका जाने अफर आएको रहेछ । सुरुमा त उनी टकटकिए । जोखिम मोलेर जान तयार भएनन् । साथी मार्फत परिचित भएका एजेन्टले सहजै अमेरिका छिराउने बताएपछि उनी तयार भए । डलर कमाउने लोभमा उनि लहसिए ।
बोलिभिया, ब्राजिल, कोलम्बीया, पनामा, निकारागुवा, होन्डुरस, ग्वाटेमाला मेक्सिसको हुदै झन्डै ८ महिनाको कष्टरकर यात्राबाट अमेरिका आइपुगेको व्यथा उनले सुनाउन थाले । बाटोमा पाएको सास्ती, घनाजंगल, समुन्द्र तदै अनि हतियारधारी जत्थाको सामना गदै काढामाथी खुट्टा टेक्दै अमेरिका छिरेको उनी अहिले पाँच वर्ष भइसकेको छ । गैरकानुनी रुपमा अमेरिका छिर्दा उनी तीन महिना त जेलमा पनि बसेछन् । बल्लतल्ल अमेरिका आइपुगेका उनले झन्डै ६० लाख रुपैया त स्वाह पारे । अझै पनि उनी कानुनी रुपमा अमेरिकामा बस्न पाएका छैनन ।
उनले ग्रिनकार्डका लागी पेश गरेको कागजपत्र अहिलेसम्म त्यतिकै छ । ऋण खोजेर अमेरिका आएका उनलाई अहिले त्यो पैशा तिदै ठिक्क भएको छ । ‘अब अहिले कमाउने र ग्रिनकार्ड पाउने उनले नियास्रो हुदै भने– ‘दशा लागेर पो अमेरिका आइएछ ।’× उनले पछिल्लो क्रममा अमेरिकाको कडा अध्यागमन नितिले लुकेर बस्न पनि हम्मे परेको दुखेसो पोखे ।
लुकीछिपी अमेरिका आउनेहरु सामान्य व्यक्ति मात्र नभई पढेलेखेका र सरकारी जागीर खाएकाहरु समेत रहेका छन् । ट्रकमा कोचिएर, रातारात जंगलको बाटो हिडाउदै महासागरहरु तराउदै भोकतिर्खा नभनी दलालले मोटो रकम लिएर अमेरिका छिराउने गरेका छन् ।
द्धन्द्धले ग्रस्त भएको भन्दै सुरुमा गैरकानुनी रुपमा आउनेहरुले कानुनी लडाई लडेर यहाँको ग्रिनकार्ड लिएर स्थायी बसोबास गरिसकेका छन् । तर अधिकांश भने अझै पनि स्थाथी बसोबासका लागी कानुनी लडाई लडीरहेका छन् ।
गैरकानुनी रुपमा अमेरिका आउनेहरुलाई यहाँ सम्म आइपुग्नलाई त्यति सजिलो भने छैन । दलालहरुले बाटो बाटोमा सेटिङ मिलाउदै र पैसाको बार्गेनिङ गराउदै अगाडी बढाउछन् । उनिहरुले भने अनुसारको पैसा भएन भने अगाडी बढ्न नदिने अबैधानिक रुपमा आउनेहरुको अनुभव छ । यसरी अबैधानिक रुपमा अमेरिका आउने कतिपय बीचबाटोबाटै फर्काएका पनि छन् भने केहीले स्वास्थ्य समस्याले ज्यान समेत गुमाउन बाध्य भएका छन् । समुन्द्रमा डुगा पल्टेर समेत नेपालीले ज्यान गुमाएको घटना छन् । केही बाटोबिचमै अलपत्र परेको कथा यता आउनेहरुले सुनाउने गरेका छन् ।
ट्रकमा कोचिएर, रातारात जंगलको बाटो हिडाउदै महासागरहरु तराउदै भोकतिर्खा नभनी दलालले मोटो रकम लिएर अमेरिका छिराउने गरेका छन् । कतिपय त मानव तस्करहरुको चुगुलमा परेर विभिन्न देशमा बन्धक समेत बनाइएका छन् । केही वर्ष अघि २३ जना नेपालीलाई अमेरिका पुराउने भन्दै थाइल्यान्ड हुदै नाइजेरिया बन्धक बनाएका थिए । जंगली जनावार लगायत अन्य विभिन्न समस्याहरु यसरी आउनेहरुले भोग्ने गरेको एक वर्ष अघि मुस्किलले ज्यान जोगाएर अमेरिकाको टेक्सस आइपुगेका स्याङजाका हर्कबहादुर खत्रीले बताए । चुक पोखी जस्तो अध्यारो जंगलमा कतिपटक जंगली जनावारको सामना गरियो’ उनले भने–‘झन्डैले ज्यान पनि गएन ।’ उनले लुकीछिपी अमेरिका आउनेबाटो सजिलो नभएको बताए । ज्यानको माया मारेर नै आउनु पर्ने रहेछ उनी भन्दै थिए–‘यो सब थाहा पाएको भए त आउने पनि थिइन ।’
यसरी अमेरिका छिर्दा बाटोमा भोगिने ठक्कर–हन्डर त छदैछ । फेरी अमेरिका छिरेपछि पनि कागजपत्र नहुदाँको सास्तीको अर्को कथा सुरु हुन्छ । राम्रो काम नपाइने र लुकीछिपी हिडनु पर्ने मनमा अर्को त्रासले डेरा जमाएको हुन्छ ।
यस्तै ऋणधन गरेर भारत हुदै विभिन्न देशको कठोर यात्रा पार गदै अमेरिका छिरेका पोखराका चित्रबहादुर थापालाई दुई वर्ष अघि डिर्पामेन्ट अफ होमल्यान्ड सेक्युरिटीले विमान चार्टर गरेर नै नेपाल डिपोर्ट गरेको थियो । उनि सहित अन्य चार जना नेपाली डिपोटमा परेका थिए । यसरी ज्यान धरापमा राखेर अमेरिका छिरे पनि पछिल्लो ट्रम्प सरकारको कडा अध्यागमन नितिले लुकीछिपी आउनेहरुलाई डिपोर्ट गर्ने क्रम पनि त्यतिकै बढेको छ । जग्गा जमीन घितो राखी तथा ऋण काढेर गैरकानुनी रुपमा अमेरिका छिर्नेहरु पछिल्लो क्रममा डिपोटको निशानामा पनि पर्न थालेका छन् । दलाललाई ४० देखि ८० लाख रुपैया सम्म बुझाएर अबैध बाटोबाट अमेरिका छिर्नेहरुको कथा दर्दनाक छ । दलालहरुले एउटै रुट प्रयोग नगरी फरक– फरक बाटो हुदै मोटो रकम लिएर अमेरिका छिराउने गरेका छन् । हवाई, जल र स्थलमार्ग हुदै जुन बाटो प्रयोग गरे पनि अमेरिका पुग्नेहरुको अन्तिम बिन्दु भने मेक्सिको नै हुने गरेको छ । खोला होस यो पर्खाल नाघेर अबैध रुपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्छन् ।
लुकीछिपी अमेरिका आउनेहरु सामान्य व्यक्ति मात्र नभई पढेलेखेका र सरकारी जागीर खाएकाहरु समेत रहेका छन् । अमेरिका छिरेपछि पनि नेपाली वकीललाई पैसा खुवाएर केस लडनुपर्छ’ डेढ वर्ष अघि आएका तनहुँका वेदशरण कार्कीले भने–वकीलेले भने जति पैसा दिनुपर्छ नत्र मुद्धा नै लडन मान्दैनन ।बाटोमा त ठगियौ नै यहाँ आएपछि पनि ठगिनुपरेको उनले गुनासो पोखे । मुलुक चरम द्धन्द्धमा हुँदा होस या भुकम्पपछिको विपतिमा नेपालीहरु अबैध रुपमा अमेरिका छिरेर कागजात बनाएर यतै बसेका छन् । द्धन्द्धकालमा त धेरैले विद्रोहीको समस्या देखाएर सजिलै ग्रिनकार्ड हात पारे । भुकम्पपछि पनि नक्कली पीडित बनेर अमेरिकाको शरण पाउनेहरु पनि छन् । अबैध रुपमा मेक्सिको हुदै आउने मात्र हैनन विभिन्न कार्यक्रमको बहानामा आउने, घुम्न आउनेहरु पनि यता आएर लुक्ने गरेका छन् । नेपालमा राजनिति दलको पहुच बनाएर कार्यक्रमको सिलसिलामा यता आएर नफर्किने पेशाकर्मि, कलाकारहरु पनि छन् ।
वर्षेनी अबैध रुपमा अमेरिका छिर्ने नेपालीहरु सयौ रहे पनि यसबारेमा कसैसंग पनि यकीन तथ्याङ्क छैन । हजारौको संख्यामा कागजात बिहीन नेपालीहरुले बसोबास गदै आएको भनिए पनि यस सम्बन्धी कसैसंग पनि आधिकारिक तथ्याङक छैन । अमेरिकाको समाचार एजेन्सीको तथ्याङक अनुसार एशियाली मुलुकका झन्डै १० लाख आप्रवासीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएका छन् । जसमा भारतीयको संख्या उलेख्य रहेको छ । जसमा नेपालीहरुको संख्या ४० हजार भन्दा माथि रहेको अनुमान छ । कानुनी रुपमा अमेरिकामा बस्ने नेपालीहरुको संख्या ६ लाखको हाराहारीमा रहेको तथ्याङक छ । यी मध्ये ६० प्रतिशत कागजपत्र बिहिन रहेको अधिवक्ता बासु फुलारा बताउछन् । उनका अनुसार ९ हजार टिपिएस बाहक छन् । अबैध रुपमा आएर असाइलम गरेर ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरुको संख्या पनि बढ्दो छ । तर डोनाल्ड ट्रम्प राष्ट्रपति भएर आप्रवासी नितिमा कडाई गरेपछि असाइलम मार्फत ग्रिनकार्ड पाउनेहरुको सख्या घटेको छ । पछिल्लो क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी प्रति आक्रमक भइरहेका छन् । उनले केही महिना अघि लाखौको संख्यामा ्आप्रवासीहरुलाई अमेरिकाबाट फिर्ता पठाउने अभिव्यक्ति दिएका थिए । त्यसो त अहिले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासीलाई फिर्ता पठाउन आइसीईले धरपकड पनि गर्न थालेको छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टयुम्स इन्फोर्समेन्टको तथ्याङ्क अनुसार २०१८ मा २ लाख ८६ हजार ८५ जनालाई आफनो मुलुक फिर्ता पठाइएको छ । नेपाली के कति पठाइए भन्ने बारेमा आधिकारिक तथ्याङक भेटिदैन । तस्विर एजेन्सी
,