दुर्योधन प्रवृति (कविता)

गाली गर्नु राम्रो हुँदै होइन
मलाई झन् मन पर्दै पर्दैन
तर तिम्रो एकोहोरो गाली सुन्दा सुन्दा
मैले केहि भन्नै पर्ने भो
तिमीलाई तिम्रो बिगत सम्झाउनु पर्ने भो
तिम्रो इतिहास
मलाई थाहा नभएको पनि होइन
कति साँचो हो, कति झुटो हो
मैले नबुझेको पनि होइन
अहिलेको तिम्रो खोक्रो दम्भ
विकृत मानसिकता पनि
मैले नबुझेको पनि हैन
धेरै कुराहरु छन् तिम्रो बिगतमा
पीडा, दु:ख, अपमानका व्यथाहरु छन्
तिम्रा संघर्ष, पराजय, पराधीनताका कथाहरु छन्
तिम्रा संघर्ष, मुक्ति र विजयमा हामीले गरेका हातेमालोहरु छन्
मलाई थाहा पनि छ
पराधिनता पछिको स्वाधिनता
सयंमित राख्न ठूलो चुनौती हुन्छ
आफ्नो बाहुवल प्रदर्शन गर्ने उत्कण्ठा
नियन्त्रण गर्न गार्हो हुन्छ
त्यो उत्कण्ठा अनियन्त्रित हुँदा
अर्काको स्वतन्त्रता, सम्पति
नियन्त्रणमा राख्न जालझेल शुरु हुन्छ
वरिपरिकालाई पीडा हुन्छ
अनि फेरी अर्को महाभारत हुन् सक्छ
मलाई राम्ररी थाहा पनि छ
तिम्रो गौरवशाली संस्कार तथा परम्परा
तिम्रो सदभावना, सदाशयता तथा सहृदयता
तिम्रा महापुरुषहरुको नैतिक धरातल तथा महानता
अनि तिम्रा साथ भएका केहीको दुर्योधन प्रवृति तथा दुराशयता
आऊ, महापुरुषहरु
संगै बसेर सौहार्दिक प्रेम– वात्सल्य संग कुरा गरौँ
बुद्धि, विवेक, धर्म सम्झी न्याय गरौँ
बालहठी, दुर्योधनलाई नियन्त्रण गरौँ
फर्काइदियौं सम्पति जसको हो त्यसैलाई
फेरि महाभारत रच्ने काम नगरौं
धरतीकै स्वर्ग पाएका छौं
हामीले पृथिवीको यो भूभागमा
न्यायपुर्वक उपयोग, उपभोग, संरक्षण गरौँ सवैको हितमा
फालौं संकीर्ण सोच, लालच, दम्भ, अभिमान, अहंकार
बन्न दिनु हुँदैन यो भूभाग हस्तिनापुर
(समसामयिक घटनाक्रमलाई मध्य–नजर राखि लेखिएको )