फेसबुक महिमा (व्यंग कविता)
एउटा महासागर भैसकेछ फेसबुक
कोहि यसमा “मोती” भेट्टाऊँछन्
कोहि यसबाट “माछा” निकाली व्यापार गर्छन
कोहि मायालु लिएर “सर्फिङ्ग” गर्छन
……….
कोहि किनारमा बसेर सिफुडको स्वाद लिन्छन
कोहि ज्यादा जान्ने हुँदा गोहीको सिकार हुन्छन
कोहि चस्मा ढल्काउँदै किनारमा गमेर हिंड्छन
कोहि भावना भजाउँदै दान-दक्षिणा माग्छन
…….
फेसबुकको सागरमा बिभिन्न “लहरहरु” चल्छन
ती लहरहरुले कहिले मिठो स्पर्श गर्छन
मन र मस्तिष्कलाई तिरिमिरी पार्छन
कहिले कतिको ढाडमा भकुरेर मुन्ट्याउँछन्
……
अनुरोध लहर
मेरो पेज “लाइक” गरिदिनुहोला
मेरो भिडियो “सेयर”, “सब्स्क्राइब” गरिदिनुहोला
फलानोलाई भोट हालिदिनु होला
यो “संदेश” बढी से बढीमा पुर्याईदिनु होला
…….
धम्की लहर
मेरो फेसबुकमा “झारपात” उखेल्ने बेला भो
मेरो “पोस्टिंग”मा केहि पनि प्रतिक्रिया नदिनेलाई
या “जे पायो त्यहि” प्रतिक्रिया दिनेलाई
फाल्ने बेला भो
……
धर्म कमाइ लहर
बालाजुमा भयो चमत्कार,हजारौंले हेरे लीला अपरम्पार
यो “पोस्ट” सेयर गर्नु होला
सात दिन भित्र फलानो लाभ पाउनु होला
नत्र …
………
सास्ती लहर
कोहि आफ्नो “भड़ास” पोस्ट गर्या गर्यै छन्
कोहि आफ्नो “व्यापार” “प्रोमोट” गर्या गर्यै छन्
कोहि आफ्नो “नेता”को चाकडी गर्या गर्यै छन्
कोहि आफ्नो “रवाफ” देखाएको देखायै छन्
………..
“लुकेको मनसाय” लहर
कोहि “साक्षी” बस्न “फ्रेन्ड रिक्वेस्ट” पठाउँछन्
कोहि “चियो” गर्न “फ्रेन्ड रिक्वेस्ट” पठाउँछन्
कोहि “कुरा काट्ने” मसला लिन आउँछन
कोहि “सम्बन्ध गास्न” आउँछन
………
“व्यक्तित्व” प्रदर्शन लहर
कोहि विद्वानको “कोटेसन” आफ्नो बनाएर राख्दछन
कोहि अरुको शायरी आफ्नो बनाइ राख्दछन
कोहि प्रसिद्ध गायकलाई “जिस्काउन” आउँछन
कोहि प्रकाण्ड आध्यात्मिक गुरु बनेर उपदेश दिन आउँछन
……….
आफ्नो आङ्गको भैंसी नदेख्ने अर्काको जुम्रा देख्ने
भन्नु होला -“तँ के मा पर्छस नि? ठूलो पल्टेर सवैलाई हेप्ने ?
नरिसाउनोस है हजुर, म पनि एउटा साधारण मान्छे नै हुँ
माथि उल्लेखित कुनै “लहर” भित्र नै पर्दछु
……….
देखेर फेसबुकको यो चाला-माला
सनक चढछ -” बन्द गरिदिन्छु खातापाता”
फेरि सोच्दछु -“कसलाई देखाउँछस यो झोंक ?
फेसबुक छ र त तैंले घरै बसि हेर्न पाउँछस समस्त लोक”
……….