एकातिर
कोभिड-१९को आतंक
करौँडो सलहको आतंक
अर्को तिर
चर्काचर्की, बाझाबाझ
रण संग्राम !
दु:ख पाउने हामी
भोको पेट बस्नु पर्ने
तपाईं हामी

भन्छन
दु:ख एक्लै आउँदैन
पुरै जुलुश लिएर आउँछ
हो कि क्या हो
त्यस्तै लाग्न लाग्यो
हामीले अझै दु:ख पाउँछौं कि
त्यस्तै लाग्न लाग्यो

किन यो रणसंग्राम ?
भन्छन देश र… को लागि
कि कतै
भेट्टाएछन् कि उनीहरुले विकासको “नयाँ फर्मुला”
अनि बिस्थापित गर्न खोजे विद्यमान तौर तरिका

तर खै, हामीलाई देखाएको
हामीलाई कुरो बुझाएको
हाम्रो चित्त नबुझाई
अहिले किन रण संग्राम गरेको

उनीहरुले जे भने पनि
गाह्रो छ चित्त बुझाउन
उनका कुराहरु पत्याउन
के भनौं, उनीहरुको पनि
“ट्रयाक रेकर्ड” राम्रो छैन
बानी सुध्रिएको छैन
“बयस्क बालक” मनस्थिति हटेको छैन

हेर्दा हेर्दै समाचार
धेरै चिन्ता भयो
मनमा कुरा खेलिरह्यो
निन्द्रा आएन
रात छर्लंगै गयो

बिहानै बिजुलीको तारमा बसेर
चारवटा कागहरु कराए
कौतुहल भयो कस्तो खवर ल्याए
राति कसैले कसैलाई मुन्ट्याएकि
कसैले कसैलाई चित पल्टाएकि
एकै रातमा यहाँ जे पनि हुन् सक्छ
हुनसक्छ ठूलै संकट आउँदैछ

समाचार हेरें
भेडा भेडा संग, बाख्रा बाख्रा संग थिए
दुवै बथानहरु सिंगौरी खेल्दै थिए
“तमाशा ” हेर्दा रमाइलो लाग्यो
तर भर्खरै धान रोपेको खेत मडारिएको थियो
माना रोपेर मुरी उब्जाउने सपना चकनाचुर हुँदै थियो

-बैकुण्ठराज आचार्य

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected