तिमी भगवान
म मान्छे
कोहि भन्छन
तिमी आफैं बन्यौ
कोहि भन्छन
मैले तिमीलाई बनाएँ
कोहि भन्छन
तिमीले मलाई बनायौ
कोहि भन्छन
तिमी छँदै छैनौ
कोहि भन्छन
तिमी सर्वव्यापी छौ

को ठिक
को बेठिक
मलाई थाहा छैन
त्यसको उत्तर दिने
मेरो हैसियत छैन

तिमी
सर्वशक्तिमान मानिन्छौ
यो संसार चलाउने
तिमीनै हो भन्ने ठानिन्छौ
एका तिर प्रेम-वात्सल्य, करुणा, न्याय
अर्को तिर अर्कै स्वभाव देख्छन तिम्रो
असलमा तिमी को हौ

जन्मनु, हुर्कनु,बूढो हुनु र मर्नु
मेरा आँखा र बुद्धिले देख्न सक्छन
जिन्दगीका दु:ख र सुख
मैले महसुस गर्न सक्छु

तर तिमीलाई
देख्न, महसुस गर्न सहज छैन
मान्छेले अझै पनि
तिम्रो रुप, स्वरुप, आकार-प्रकार
कुन हो एकै स्वरमा भन्न सकेको छैन
तिम्रो अस्तित्वको प्रश्न चिन्ह अझै हटेको छैन

व्यापार गर्छन, संगठन गर्छन
राजनीति गर्छन, प्रभुत्व जमाउँछन
बिस्वलाई विभाजित गर्छन
मान्छेहरुले तिम्रो नाममा

कि थाहा छैन तिमीलाई
थाहा छ भने
किन हो यो मौनता
धेरै चोटी सोधिसकें मैले
तर किन यो जवाफ-शुन्यता

तिमी को हौ ?
तिम्रो अस्तित्वमा उठेको प्रश्न समाधान गर
खोजिभैरहेको छ तिम्रो यहाँ
आऊ, देखा पर
सवै शंका-उपशंका निवारण गर

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected