झमझम पानी पर्यो
छिमेकीको कुकुर भुक्यो
निन्द्रा टुट्यो
मध्यरातमा !

भयो छटपटी
एक्लै कोठामा
जाने कहाँ ?
मध्यरातमा !

अलमलिएँ एकछिन
पानी त रोकियो
तर छोडेन कुकुर भुक्न
खोलेँ कम्पुटर
हेरेँ समाचार
हेर्न मन लागेन धेरै
त्यहाँ पनि कोहि भुकिरहेको थियो !

खोजेँ दुवै भुकाईमा
के छ समानता ?
देखेँ
दुवै अर्काका अधिनमा छन्
अर्काका ईशारामा चल्छन
भुकेर उनीहरु
आफ्नो अस्तित्व
आफ्नो वर्चस्व
अनि वफादारी
प्रदर्शन गर्न चाहन्छन

बन्द गरेँ कम्पुटर
न रहे बाँस, नबजे बाँसुरी
बिगार्नु छैन मलाई आफ्नो मनस्थिति
सुन्नुछैन मलाई
कसैको कुर्सी नपाएको अरण्य-रोदन
आफ्नै खुट्टामा बन्चरो हानि गरेको क्रन्दन

तर के गरौँ ?
छिमेकीको कुकुरलाई
त्यो त
आफ्नो नियन्त्रण भन्दा बाहिर छ
एकोहोरो भुकिरहेको छ
सवैको निन्द्रा बिगारिदिएको छ

थाहा छ
छिमेकी बलियो छ
तामझाम चर्को छ
जातजातका कुकुरहरु पालेको छ
टोलमा ‘रवाफ’ छ
उसलाई ‘सम्झाउन’ गाह्रो छ

सुत्न सकिन रात भरि
शायद
अरु छिमेकीहरु पनि सुत्न सकेनन
सोचेँ
भोलि अरु छिमेकीसँग कुरा गर्नेछु
सवैलाई एकवद्ध हुन् भन्नेछु
ती छिमेकीको ‘रवाफ’ नियन्त्रण गर्नुछ
उनको कुकुरको भुकाई बन्द गराउनु छ
टोलमा शान्ति-सदभाव ल्याउनु छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected