रहन देऊ
मेरो मनलाई
जहाँ छ त्यहिँ, त्यस्तै
नआउ तिमी
उत्खनन गर्न

तिमीले प्रयोग गरेका औजारहरुले
तोडन सक्छ
फोडन सक्छ
बर्बाद गर्न सक्छ
कोमल मेरो मन

निर्जीव हैन, खण्डहर हैन
मेरो मन
किन गर्न खोज्छौ उत्खनन ?
के जान्नु छ तिमीलाई ?
के बुझ्नु छ तिमीलाई ?

कहाँ, के स्वरुपमा छ
त्यति सजिलो छैन
देख्न, चिन्न, बुझ्न मेरो मन
नखोज
रिस, राग, द्वेष, दम्भ, अभिमानको संसारमा
त्यहाँ बाट टाढा रहन्छ मेरो मन

मेरो मन
सुन्दर बगैँचामा टहलिरहेको हुन्छ
नदीको कलकल संगै बहिरहेको हुन्छ
“रात कि रानी” फूलको बास्ना संगै फैलिरहेको हुन्छ
दया, माया, करुणा, सहृदयता संगै बसिरहेको हुन्छ

तिमी जव
द्रविभूत हुन्छौ कोमल मानवीय संवेदनामा
मेरो मनलाई स्पर्श गर्छ तिम्रो मनले
मेरो मनलाई वशीभूत गर्छ तिम्रो मनले
तिम्रो मन संगै
टाँसिएर बस्छ मेरो मन

नखोज कतै मेरो मनलाई
नगर कतै उत्खनन मेरो मनलाई
आफैं भित्र महसुस गर मेरो मन
आफैं भित्र पाउँछौ वृन्दावन

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected