बित्यो
बाल्यावस्था, किशोरावस्था, युवावस्था
केहि बन्ने र केहि पाउने लडाइमा
भिड्दै ईच्छा, आकांक्षाको परिपूर्तिमा
जीवनलाई सुन्दर, शान्त बनाउने चाहनामा

सोचेको थिएँ
सकियो लडाई अव
जीवनको यो साँझमा
बिताउने हो जिन्दगी शान्ति संग अव
परको त्यो सुन्दर तलाउको किनारमा

तर
नजिक पुगेर हेर्दा
टाढा बाट देखिएको त्यो तलाउ पनि
शान्त रहेनछ
बाघ, भालु, मृगहरु पानी खान आउँदा रहेछन
गोमन सर्पहरु भ्यागुता खोजिरहेका रहेछन
यो पनि लडाईको मैदान रहेछ
शान्ति त मृगतृष्णा रहेछ

बुझें
यहाँ पनि सवै सँधै
बाँच्नको लागि लडिरहेका रहेछन
शक्ति नभए अस्तित्व जोगाउन गार्हो रहेछ
र मैले फेरि लडाईमा जानु छ
थन्काएर राखेका युद्धका
पोशाकहरु, औजारहरु, हतियारहरु
फेरि निकाल्नु छ !

खोजें शान्ति चारै तिर
अट्टहास सुनें कतै टाढा
“जीवन युद्ध मैदान हो
बाच्न चाहन्छौ भने लडि राख
युद्ध मैदानमा शान्ति नखोज”

“जुन दिन तिम्रो युद्ध सकिनेछ
मलाई भेटन आऊ
म यहिं खोलाको किनारमा
चितामा सुतिरहेकी छु
यहाँ आऊ, संगै सुतौं
अन्तिम सत्य यहि हो “

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected