कति फूर्ति
कति फुरफुर
हल्लाउँदै पुच्छर
कहिले कुन, कहिले कुन हाँगामा
कहिले नहरको डिलमा
कहिले हरियो चौरमा
“नो टेन्सन”
हाँगामा भए पनि
जमिनमा भए पनि
मोज र मस्ती
न पार्टीको झोले बन्नु पर्ने बाध्यता
न विदेश भास्सिनु पर्ने बिबसता
झ्यालबाट हेरिरहन्छु
उफ्रिरहेको छ लोखर्के हाँगा- हाँगामा
फल टिप्छ, खान्छ, दौडन्छ
अर्को चाँहि शायद जोडी हो
संगसंगै कुदिरहेछन, खाइरहेछन
न “मँगनी”, न बिवाह
आफ्नै मर्जी !
आफ्नै “रोमान्स”
न “जेन्डर”को विवाद
न “टेन्डर”को मुक्कामुक्की
न बुझ्नै नसकिने “दर्शन”को ज्ञान
न थाम्नै नसकिने धार्मिक अन्धता
न नामको अगाडी पदवी लेख्नु पर्ने बाध्यता
न नयाँ नयाँ फेशनको उन्मादता
म मान्छे
बिहानै झ्यालमा छु
म कति चिन्तित छु
कति परिसूचकहरु
कति मापदण्डहरु
मलाई लल्कारन्छन
अलिकता हास्न, अलिकता रमाउन
कति किमत तिर्न पर्छ मैले
किनेको हाँसो, किनेको रमाइलो
कति दिन पुग्छ र मलाई ?
ईर्ष्या लाग्छ मलाई
क्रोध उठ्छ मलाई
लोखर्के संग, उसको खुशी संग
उसलाई न खुट्टा तान्नेहरुको चिन्ता
न संसारिक दौडको सुर्ता
कसैले अन्याय गरिरहेको जस्तो लाग्छ मलाई
फेरि मनमा आउँछ
उ लोखर्के
म मान्छे !
म ठूलो हुँ भन्ने भ्रम
अनि त्यसैसंगै आउने हण्डर
चलिरहेको रहेछ यसरि नै संसार !
डालस -, टेक्सास
अक्टोबर ३१, २०२०
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...