सन्तोष अधिकारी/लिस्वन

युरोपियान देश पोर्तुगलको  सम्पन्न निर्बाचन बाट प्रधानमन्त्रीमा पुन एन्टोनिया कोष्टा बिजयी भएका छन । कुल दुई सय तिस सिटमा उनको पोर्तुगिस सोसलिष्ट पार्टीले १०६ सिटमा जित पारेको थियो । उनलाई बहुमतका लागि अरु १० सिटको खांचो पर्नेछ । उनका निकटतम प्रतिदन्द्धी रुइ फर्नान्डो रियोको पोर्तुगिस सोसलिष्ट डेमोक्रयाटस पार्टाीैले ७७ स्थनमा मात्र जित हासिल गरेको छ । चुनावी प्रतिस्पर्धामा अन्य साना दलहरु पनि सहभागी थिए ।

यो चुनावी परिणामले लिएर बिगतमा जस्तै यहांका आप्राबासीहरुको पनि ध्यान खिचेको छ । आप्रावासीका निम्ती कहिले सहज त कहिले कठिन निती अबलम्वन गर्दै आएको पोर्तुललको भावी रणनिती कस्तो होला भन्ने चासो आगन्तुक आप्रावासी बिच चुंलिदै  गएको छ । कतिपय आगामी दिनमा पनि अहिलेकै जस्तो सहज निती अख्तियार गर्न सक्ने भन्दै आशाबादी देखिन्छन भने , केहि आप्राबासी कोष्टाले २०१५÷१६ मा जस्तै केहि कठिन निती लिन सक्ने भन्दै चिन्तीत पनि देखिन्छन । सन २०१५ मा पहिलो पटक प्रधानमन्त्री निर्बाचित हुदा सुरुका बर्षमा आप्रावासी लाई आवास अनुमती दिन केहि झण्झटीला निती अख्तियार गरेको यहां भएका नेपाली हरु को अनुभव छ । पोर्तुगलको सामजिक सुरक्षा कर प्रणालीमा दर्ता गर्न, सेफ इन्ट्री लगायतका सुरुवातीका प्रकिया पुरा गर्न नै लामो समय कुर्नु पर्ने बाध्यता थियो । तर पछिल्ला बर्ष यहि सरकारले सहज निती अख्तियार गर्दै ६,७ महिनामै नै अस्थायी आवास अनुमती दिदै आएको छ । कुनै बेला कठिन त कुनै बेला सहज दुबै खालको रणनिती अख्तियार गर्ने सोसलिष्ट पार्टी कै नेतृत्वमा पुन सरकार बन्ने भएकाले यस्तै निती लिन्छ भनेर भनि हाल्न नसकिने पोर्तुगल एन आर एन का महासचिब हेमराज सुवेदीको बुझाई छ । उनी कागजी प्रकिया पुरा गर्दै गरेका नेपाली आत्तिनु पर्ने अवस्था नभएको बताउछन । आप्रावासीका निम्ती अब बन्ने सरकारले कडाई नगर्न सुवेदीको बुझाई छ । हाल पोर्तुगलमा २५ देखि ३० हजारको हाराहारीमा नेपाली रहेको आंकलन गरिएको छ । युरोपका बिबिध देश आएर पोर्तुगल छिर्ने नेपालीको संख्या दिनानु दिन बढदो छ । अन्य युरोपियान मुलुकको तुलनामा टेम्पोरेरी रेसिडेन्सी देखि, निश्चित प्राबधान पुरा गरेपछि पासपोर्ट समेत ५ देखि ७ बर्ष भित्रमा नै दिने गरेकाले अन्य मुलुकका जस्तै नेपाली पनि पोर्तुगल छिर्न रुचाउने गरेका छन । यहांको पासपोर्ट बिश्वको शक्तीशाली पासपोर्ट मध्य चौथो स्थानमा छ ।

यता तिन महिना अघि मात्र जर्मन हुदै पोर्तुगल आएका कृष्ण शर्मा अहिले थोरै अन्योलमा देखिएका छन । “ छिटो टि आर पाईने आशामा यता छिरियो ” उनी थप्छन “अब बन्ने सरकारले अप्ठयारो बनायो भने फेरी कति झण्झट हुने हो ”। नयां सरकार बने संगै आप्रावासी निती यहांको मुख्य बहसको एजेण्डा बन्ने गर्छ । आप्रावासीलाई सहज बनाएकै बेला चुनाव जितेकाले अबको सरकार कठोर नबन्ने आंकलन पनि धेरैले गरेका छन । डेनमार्क बाट पोर्तुगल आएर ६ महिनाको छोटो अबधीमै टि आर लिएका नबिन तिम्सीना सबै प्रक्रिया यहांको नियम अनुसार पुरा गरे सरकार नया या पुरानो हुनुले खाशै असर नपार्ने बताउछन । उनी पोर्तुगलमा नेपाली माझ सामजिक अभियान्तको रुपमा काम गर्दै आएका छन । कागजी र यहांको प्राबिधीक बिषयमा धेरै नेपाली लाई आफुले सहयोग गरि रहेको तिम्सिनाको भनाई छ । उनले युरोप भनेर हामफालि हाल्न भन्दा धेरै कुरा बुझेर, अबसर चुनौतीको बारेमा अध्ध्ययन गरेर मात्र आउदा राम्रो हुने सुझाव समेत दिए । कति नेपाली भोलीको निती कस्तो होला भनेर चिन्तीत बनि राखेका बेला लामो समय लिस्वनमा ब्यवसाय गर्दै आएका नवलपरासीका शिब प्रसाद आचायको भने फरक सुझाव छ । उनी भन्छन “यत्तिको दुःख गरे देशमै पनि राम्रो कमाउन सकिन्छ तर केहि गर्ने विश्वासिलो बातवरण राज्यले बनाउन सक्नुपर्छ” । अहिलेको सरकारले राम्रो वातवरणको निर्माण गरे आफु भोली नै नेपाल फर्किएर यहांको भन्दा ठुलो लगानी गरेर ब्यवसाय गर्न तयार रहेको बताउछन । बैद्य र अबैद्य बाटो हुदै कुरा नै नबूझि ठुलो रकम खर्च गरेर सिप बिना युरोप भनेर मात्र नहतारिन युवाहहरुलाई आचार्यको सुझाव समेत छ ।

निर्बाचनको माहोल संगै टि आर र पासपोर्टको पर्खाइमा रहेका आप्रावासीमा आशा र अन्यौलता दुबै कायमै छ । नेपाली लाई मात्र नभएर भारत बंगलादेश, अफ्रिका लगायतका देश बाट भित्रिएका आप्रावासीको चासो अबको केहि महिना सम्म सरकारले अबलम्बन गर्ने नयां निती मा नै केन्द्रित हुने कुरामा दुइमत छैन । किनकी अधिक आप्रावासी सहज रेसिडेन्सी पाउने आशा मा नै पोर्तुगल छिर्ने गरेका हुन्छन । अफ्रिकन देश अंगोला का अरलिन्डो लुज पनि अब बन्ने सरकारले आप्रावासी लाई कडाई नगर्ने कुरामा नै आशाबादी छन । यहांको राज्यले आप्रावासीको श्रम र लगानी बाट धेरै नै फाईदा लिएकाले तत्काललाई कुनै परिबर्तन गर्न नसक्ने उनको तर्क छ । अर्का तर्फ कोष्टा आफै पनि आप्रावासी पृष्ठभुमीका भएकाले कडाई नगर्ने धेरैको बिश्वास छ । प्रधानमन्त्री कोष्टा का पिता भारतको गोवामा जन्मिएका हुन भने आमा अफ्रिकाको मोजाम्विकमा ।

भावनात्मक आधारमा मात्र नभई पोर्तुगलको कृषी र पर्यटनमा माग हुने अधिक श्रमिकको आपुर्तिलाई पुरा गर्न र सस्तोमा मजदुर पाउन पनि आप्रावासी लाई यो देशले तत्काललाई कडाई गरी हाल्न नसकिने देखिन्छ । अर्कातर्फ अति न्युन जनसंख्या बृद्धीदर भएको पोर्तुगलले भविश्यमा जनसंख्याको आकारमा पर्न सक्ने असरलाई मध्यनजर गरेर पनि आप्रावासी लाई नरम निती लिने गरेको हो । बिभिन्न अध्ययनहरुले पोर्तुगलले अबको केहि दशक सम्म आप्रावासी लाई नभित्राए यहि अनुपातको जन्मदरले देशमा जनसख्ंयाको अभाव हुने आंकडा प्रस्तुत गरेका छन । अहिलेकोे ताजा तथ्यांक अनुसार जन्मदर प्रतिबर्ष ०.८५ प्रतिशत रहेको यहांको पत्रिका पोर्तुगल न्युजले उल्लेख गरेको छ ।

कारणहरु जे जस्ता भएपनि कामदार आपुर्तिको दर, लगानी विस्तारको अवस्था र सुरक्षा समेत लाई मध्यनजर गरेर सरकारले आप्रावासी निती लिने भएकाले नयां सरकार निर्माणको पुर्व सन्ध्यामा यस्ता अन्यौलता भने देखिने गरेको जानकारहरु बताउछन । संगसंगै कुन देशका नागरीकलाई नरम र कसलाई कडाई गर्ने भन्ने निती पनि राज्यले अख्तियार गर्न सक्ने भएकाले आशा र आशंका बढने गरेको पाइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected