बोक्दै बोक्दै
काम-क्रोध, लोभ-लालच, तृष्णा र भोक
ईच्छा-आकांक्षा, पीडा, दर्द र शोक
घमण्ड, इर्ष्या, राग, द्वेष र मोह
रक्त-चाप, मधुमेह, अर्बूद आदि रोग
बाँचुन्जेल
दौडिरहन्छ मान्छे
पछारिन्छ, घाइते हुन्छ
रुन्छ, कराऊँछ, फेरि उभिन्छ, फेरि पछारिन्छ
फेरि उभिन्छ मान्छे
यस्तै भुमरी भुमरीमा घुम्दै घुम्दै
कहिले
हाँसो,खुशी, सन्तुस्टी, आनन्द
प्रेम, सद्भाव, क्षमा, करुणा आदि
पाऊँछ मान्छे
रमाऊँछ मान्छे
नपाउंदा
तड्पिन्छ मान्छे
रितिन्दै, रितिन्दै
नपाएका र छुटेका चाहना सोच्दै
तृषित भएर, लालसा लिएर, बैरागिएर
कोहि पुनर्जन्म
कोहि मोक्ष र निर्वाण को कामना गर्दै
बिदा हुन्छ मान्छे
हुनु र नहुनुको फरक
नभए पछि थाहा हुँदोरहेछ
झलमल्ल उज्यालोको महत्व
निस्पस्ट अध्यारोमा
छामछुम गर्दै हिंडन पर्दा
छर्लङ्ग हुँदोरहेछ
मृत्यु संग धेरै करिव नभई
गाह्रो रहेछ
जिन्दगीको महत्व बुझ्न
तीब्र भोकको पीडा नभोगी
गाह्रो रहेछ
अन्नलाइ चिन्न
लामो बिछोडको पीडा नभोगी
सकिंदैन रहेछ
प्रेमको गहिराईमा डुब्न
जति पछारिए पनि
उभिएकै छु म अझै
मलाई थाहा छ
बिहानीको सुनौलो किरण हेर्ने
बाँचुन्जेल हो
त्यो पहाडी खोलाको कलकल सुन्ने
बाँचुन्जेल हो
तिम्रो प्रेमको गहिराईमा डुब्ने पनि
बाँचुन्जेल हो
त्यस पछि के
कसलाई के थाहा ?
–
(प्रकाशोन्मुख कविता संग्रहको एक कविता । रचना स्थान- डालस , टेक्सास । रचनाकाल -नोभेम्बर २९, २०१६ )
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...